कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत्र ५, २०८० मा प्रकाशित | 197 views


काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ ।

सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो ।

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले साढे पाँच महिनापछि आफ्नो प्रतिवेदन गएको हप्ता गृहमन्त्रीलाई बुझाएको थियो । रुपन्देही र कपिलवस्तुको सीमामा पक्राउ पर्दा महराले आफू रोल्पा जान हिँडेको बताएका थिए । प्रहरीले भने उनी भारततर्फ भाग्न लागेको आशङ्का गरेको थियाे ।

सुन प्रकरणमै गएको भदौमा पक्राउ परेका कृष्णबहादुर महराका छोरा राहुल भने पुर्पक्षका लागि थुनामा छन् । सुन तस्करी प्रकरणमा महरासँग पनि प्रहरीले बयान लिएको थियो । महरामाथि सुन तस्करीका नाक्ईषहरूसँग पटक–पटक सम्पर्क गरेको, सुन राखिएको विद्युतीय चुरोट (भेप) छुटाउन भन्सार कार्यालयमा दबाब दिएको, तस्करीका नाइके दावा छिरिङको गाडी पूर्वउपराष्ट्रपति पुनका सल्लाहकारको नाममा दर्ता गर्न भूमिका खेलेको लगायतको आरोप छ ।

यसअघि २०७६ सालमा यौन दुराचारको आरोप लागेपछि प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिएका महरा त्यस बेला झण्डै साढे चार महिना थुनामा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web