
काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) लाई पक्राउ गर्नका लागि प्रहरीले खोजी गरिरहेको छ।
३२ वर्ष पहिले उनलाई रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना गरेको थियो। हालसम्म उनले सजाय भुक्तान गरेका छैनन्।
जब गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको १(१) निर्वाचन क्षेत्रबाट निर्वाचित भए त्यसपछि फेरि उनले भुक्तान गर्न बाँकी सजायका बारेमा चर्चा सुरू भएको स्रोत बताउँछ।
रूकुम पूर्वजिल्लाका प्रहरी अधिकारी र लुम्बिनी प्रदेशका प्रहरी अधिकारीहरूले अदालतको फैसला अनुरूप प्रदेश सांसद केसीको खोजी भइरहेको बताउँछन्।
‘हामी उहाँलाई पक्राउ गर्ने अन्तिम तयारी गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘बाँकी कुरा पक्राउ परेपछि गरौंला।’
प्रदेश सांसद केसीसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा आफू एउटा मिटिङ रहेको र मिटिङपछि आफैं फोन गरी प्रतिक्रिया दिने जवाफ दिए।
राजनीतिमा आउनुपूर्व केसी म्यानपावर व्यवसायी थिए।
27.29¡ÆC