सरकारले रकम निकासा नगर्दा भूकम्प पीडित समस्यामा

पुस २९, २०८० मा प्रकाशित | 289 views

काठमाडौँ । सरकारले घोषणा गरेजति रकम निकासा नगर्दा जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण अलपत्र परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर सरकारले निर्णय गरेजति रकमको निकासा नहुँदा पीडितले अस्थायी आवाससमेत बनाउन नपाएको बताएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भूकम्प गएलगत्तै मन्त्रिपरिष्द् बैठकले १० अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरे पनि अहिलेसम्म अर्थ मन्त्रालयले जम्मा एक अर्ब रुपैयाँमात्रै निकासा गरेको बताउनुभयो । यस्तै विपद् व्यवस्थापन कोषमा रहेको एक अर्ब २६ करोड करोड रुपैयाँसमेत गरेर प्राधिकरणले दुई अर्ब २६ करोड रुपैयाँ जिल्लामा पठाएको छ । दुई अर्ब २६ करोड रुपैयाँमध्ये ४७ हजार छ सय ५५ जना लाभग्राहीको खातामा एक अर्ब तीन करोड ८१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख पाेखरेलले केही ऐन र नियमावलीका कारण पनि पीडितलाई रकम वितरणमा ढिलाइ भएको जानकारी दिनुभयो । प्राधिकरणले ऐनहरूलाई परिमार्जन गरेर अस्थायी आवास र पुनर्निर्माण तीव्र गतिमा अघि बढाउने तयारी गरिरहेको उहाँकाे दाबी छ ।

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले कुनै कुनै पालिकामा अस्थायी आवास निर्माण तीव्र गतिमा भए पनि कुनैमा भने एउटा पनि अस्थायी आवास नबनेको भन्दै चिन्ता जनाउनुभयो । प्राधिकरणका अनुसार जाजरकोट भूकम्प पीडितका लागि २० हजार एक सय ४७ वटा अस्थायी आवास निर्माणको काम सम्पन्न भइसकेको छ ।

त्यसैगरी १० हजार तीन सय पाँच वटा निर्माण भइरहेको पनि प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभयो । लाभग्राहीको सङ्ख्या ६८ हजार सात सय ८० जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web