
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यालयको तह समायोजन अर्थात कक्षा घटुवाको निर्णय कार्यान्वयनमा बैज्ञानिक पद्धती अवलम्वन गर्ने भएको छ ।
गएको चैत २३ गते बसेको कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयको तह घटुवा गर्ने भनेर गरेको निर्णय अनुसार विभिन्न १९ वटा विद्यालयको तह घटुवा गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगरी विद्यार्थी भर्ना अभियानको नतिजा पश्चात पुर्नविचार गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार १९ वटा विद्यालयको कक्षा घटुवा गर्ने निर्णय पश्चात अभिभावक, विद्यालय, शिक्षक सहित शिक्षकहरुको पेशागत संघ–सस्थाहरुले दिएको सुझाब तथा ध्यानाकर्षण पश्चात हिजो सोमबार बसेको सरोकारवालाहरुको बैठकले विद्यार्थी भर्ना दरको आधारमा विद्यालयको कक्षा घटुवाको निर्णय कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको हो ।
नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, शिक्षा शाखा प्रमुख देवराज निरौला सहित बेलकोटगढी नगरपालिका भित्र सक्रिय रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षकहरुको पेशागत संघसंगठनको प्रमुख तथा प्रतिनिधिहरु, घटुवामा परेका विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक, शिक्षक सहितको सरोकारावालाहरुको बैठकले जारी रहेको विद्यार्थी भर्ना अभियानमा १५ जना विद्यार्थी थप भएमा घटुवाको निर्णय सच्याइने अन्यथा कार्यपालिकाको बैठकले गरेको निर्णय नै कार्यान्वयन हुने निर्णय गरेको हो ।
विद्यालयमा विद्यार्थी सङ्ख्या निकै कम भएको र शिक्षक दरबन्दी समेत अभाव भइरहेकाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको माथिल्लो कक्षा घटुवा गर्ने निर्णय यो बैशाख महिनाभर कार्यान्वयन नगरी यथावत राख्ने र १५ जना विद्यार्थी नपुराए मात्रै यसअघिको कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय हिजो सोमबार बसेको बैठकमा भएको हो ।
हिजो सोमबार बसेको बैठकमा अहिले कक्षा घटुवामा परेका विद्यालयले जारी रहेको विद्यार्थी भर्ना अभियानमा १५ जना विद्यार्थी पुराउन केन्द्रित हुने त्यसो गर्न नसकेमा कक्षा घटुवाको निर्णय स्वीकार गर्न तयार भएका छन् ।
बैठकमा विद्यालयहरुको तर्फबाट सरोकार राख्ने राजकुमार रेग्मी (सन्देश), गोकर्णनाथ न्यौपाने (गजेन्द्र), शिवप्रसाद पौडेल, दिपकप्रसाद ढुङ्गाना, नारायणप्रसाद नेपाल, पूर्ण भुजेल, हरिशरण पाण्डे, केशवप्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।

25.45¡ÆC