
बाघखोर । ‘नेपाल राष्ट्रिय शिक्षक संगठन, बेलकोटगढी नगर समिति’ले शिक्षा सुधार तथा शिक्षकहरुको हकहितसंग जोडिएका विभिन्न ९ बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाएको छ ।
नगर समितिको अध्यक्ष रामप्रसाद नेपालको नेतृत्वमा गएको पदाधिकारी सहितले नगरप्रमुख जगतबहादुर गुरुङलाई नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवसरमा शिक्षा सुधार र शिक्षकहरुको हकहितसंग जोडिएका मुद्धाको माग सम्बोधनको लागी ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा हालै स्थायी नियुक्ती लिएर आएका प्रथामिक तहका शिक्षकहरुको पदस्थापना गर्दा योग्यताक्रम, भूगोल र अनुकुलताको ख्याल गरेर पदस्थापना गर्नुपर्ने, उस्तै अवस्था–प्रकृति र मापदण्डमा रहेका विद्यालयहरु मध्ये केहीको घटुवा र केहीको बढुवा गर्न लागिएको भन्दै कानून अनुसार मात्र घटुवा र बढुवाको निर्णय हुनुपर्ने, नगरभित्रको शैक्षिक अवस्था र शैक्षिक गुणस्तर सुधार्नको लागी सरोकारवालाहरुको दायित्व समेत रहने भएकाले शैक्षिक मुद्धा र विषयहरुको निर्णय लिनेक्रममा पेशागत संघसंगठनहरुलाई समावेश गराउनुपर्ने माग गरिएको छ ।
यस्तै, नगरभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न समय–समयमा वडागत रुपमा शिक्षक, विद्यार्थी, अभिभावक एंव नगरपालिकाको बीचमा अन्तरक्रिया गर्नुपर्ने, शिक्षकहरुले समयमा नै तलब पाउन समस्या हुने गरेकाले नियमित गराउनुपर्ने, विद्यार्थीहरुको सिप र ज्ञानको विकास गर्न क्षमता अभिवृद्धिका प्रतिस्पर्धात्मक प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने, विद्यालय वसको व्यवस्था भएका र आगामी दिनमा बस सञ्चालनको तयारीमा रहेका विद्यालयहरुको लागी चालक र सहचालक कर्मचारी उपलब्ध गराउनुपर्ने माग राखिएको ‘नेपाल राष्ट्रिय शिक्षक संगठन, बेलकोटगढी नगर समिति’का सचिव नवराज नेपालले जानकारी दिनुभएको छ ।
यस्तै, शिक्षकहरुको क्षमता अभिबृद्धिको लागी आवश्यकताको आधारमा तालिम सहित परिवर्तित पाठ्यक्रमको सन्दर्भमा पाठ्यक्रम प्रबोधिकरण तालिमको व्यवस्था हुनुपर्ने, विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता नेपाल सरकारले तोके अनुसार न्यूनतम मापदण्ड पूरा गरेर उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।
नेकपा एमाले निकटको शिक्षकहरुको छाता सँस्था ‘नेपाल राष्ट्रिय शिक्षक संगठन, बेलकोटगढी नगर समिति’को तर्फबाट अध्यक्ष रामप्रसाद नेपालले बुझाउनुभएको ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख जगतबहादुर गुरुङले शिक्षा क्षेत्रको विकासको लागी आफूले पहिलो प्राथमिकता दिएर सक्रिय रुपमा लागिरहेकाले जायज र समयसान्दर्भिक रुपमा उठाएको मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

शैक्षिक सस्थाहरुलाई राजनीतिक मुक्त बनाई शिक्षाको गुणस्तर बृद्धि, दक्ष र क्षमतावान विद्यार्थी उत्पादनको लागी आफू चिन्तित भएकाले कानूनले तोके अनुसारको कामकारबाहीमा अडिग रहदै आएकाले आगामी दिनमा पनि सोही अनुसार नीति निर्णयहरु गर्ने नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभएको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रको लागी योजनाबद्ध रुपमा सुधार गर्ने, स्थानीय पाठ्यक्रम लागू गर्न प्रयास गर्ने, उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान गर्ने लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याएकाले अघिल्ला वर्षको तुलनामा शिक्षाको गुणात्मक र सङ्ख्यात्मक दुवैको सुधार हुने उहाँले विश्वास दिलाउनुभएको छ ।

25.12¡ÆC