आजदेखि राष्ट्रपति चुनावको प्रचारप्रसार गर्न नपाइने

फाल्गुन २३, २०७९ मा प्रकाशित | 386 views

काठमाडौँ । पर्सि २५ गते हुने राष्ट्रपति चुनावका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको जनाएको छ । प्रचारप्रसार निषेधको अवधि २५ गते मतदान बन्द नभएसम्म कायम रहनेछ ।

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था निर्वाचन आचारसंहिता, २०७९ मा छ ।

आचारसंहितामा अनुसार प्रचारप्रसार निषेध गरेको बेला चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

आयोगले देशको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको चुनावमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराइ चुनावको स्वच्छता र मर्यादा कायम गर्न सबैलाई आग्रह गरेको छ । राष्ट्रपति चुनावमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

चुनावमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web