सन्दीप लामिछाने धरौटी बुझाएर कारागारबाट रिहा

पुस २९, २०७९ मा प्रकाशित | 412 views

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे ।

हिजाे बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर रिहा भएका हुन् ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाण्डाै उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाण्डाैकाे अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गएकाे कात्तिक १६ गते जिल्ला अदालत काठमाण्डाैमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गएकाे कात्तिक १४ गते काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गएकाे असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web