आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

जेष्ठ २२, २०७९ मा प्रकाशित | 396 views

काठमाडौँ । आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताउनुभएको छ ।

प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपदबाट जनधनको क्षतिजस्ता असर बढेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web