गभर्नर अधिकारीको बचाउमा आयो एमाले

चैत्र २७, २०७८ मा प्रकाशित | 521 views

काठमाडौँ । सरकारको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गभर्नरको बचाउमा आएके छ । अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला सरकार चुप बसेको तर गभर्नरले आवश्यक पहलकदमी लिएका बेला आफ्नो असफलताको दोष गभर्नरमाथि पोखेको एमालेको आरोप छ ।

सरकारले गत शुक्तबार गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि हाल उनी निलम्बित छन् । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेर सरकारको कदमको विरोध गर्दै गभर्नरको बचाउ गरे ।

नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायत उपस्थित थिए ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गभर्नरले अर्थतन्त्र जोगाउन ढिलै भए पनि राष्ट्र बैंकले प्रयास गरिरहेको तर सरकारले काम गर्न नदिएको बताएका छन् ।

‘अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको विषय सर्वत्र चर्चा भइरहँदा पनि सरकार सञ्चो मानेर बसिरह्यो । अर्थ मन्त्रायलले लिनुपर्ने कतिपय पहलकदमी नलिएका कारण राष्ट्र बैंकले ढिलै भए पनि आफ्नो तर्फबाट पहलकदमी लिन थाल्यो’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तर, आफ्नो कमजोरी ढाकछोप गर्न अर्थतन्त्रको असफलताको दोष अघिल्लो सरकार र राष्ट्र बैंकका गभर्नरमाथि पोख्ने काम भयो ।’

तीन पूर्वअर्थमन्त्रीले वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई भने अराजक भनेका छन् ।

अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारवाही गरिएको पूर्वअर्थमन्त्रीहरुको आरोप छ । सरकारले प्रायोजित रुपमा गभर्नरलाई निलम्बन गरेको भन्दै उनीहरुले सरकारको यो कामलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । गठबन्धन सरकारको नालायाकीपन छोप्न गभर्नर निलम्बन गरेको तीन पूर्वअर्थमन्त्रीको दावी छ ।

‘गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न गभर्नरलाई निलम्बन गरेको, तसर्थ यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि सुरु गरेको कारवाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ ।’

एमालेले सरकार भूमाफिया, कालाव्यापारी र तस्करहरुको चंगुलमा फसेको र साख गुमाएको समेत आरेाप लगाएको छ ।

चुलिदो आर्थिक संकटप्रति अर्थमन्त्रीको बेेवास्ता र अज्ञानताका कारण लगानीकर्ता, उद्योग व्यवसायी, सर्वसाधारण उपभोक्ता कसैले आशा भरोसा राख्न नसकेको एमालेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web