
करेजुङ । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं ६ करेजुङमा रहेको नवज्योति आधारभूत विद्यालयमा नवनिर्मित भवन समुदायलाई हस्तान्तण गरिएको छ । संयुक्त अधिराज्यको सहयोगमा मट म्याकडोनाल्डद्वारा कार्यान्वयन भईरहेको भूकम्प पश्चातको पुनर्लाभ कार्यक्रम मार्फत निर्माण गरिएको नयाँ भवनहरु सप्रोस नेपालका कार्यकारी निर्देशक डा. सुनित अधिकारीले यही माघ २० गते दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङलाई हस्तान्तरण गर्नुभयो । विद्यालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रमकोबीच नयाँ भवन निर्माण सम्पन्नको प्रमाण–पत्र र विद्यालय भवनको नमूना साँचो हस्तान्तरण गर्दै दुप्चेश्वर गाउँपालिकाको सम्बन्धित वडाको कार्यालय, विद्यालय तथा सप्रोस नेपालको भूमिका तथा कार्य जिम्मेवारीहरु उल्लेख गरी सम्बन्धित सवै पक्षको हस्ताक्षर सहितको सहमति–पत्र आदानप्रदान गरिएको हो । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङले ग्रहण गरेको प्रमाणपत्र र विद्यालयको नमूना साचो सामुदायिक विद्यालय भएकाले समुदायलाई हस्तान्तरणको क्रममा उक्त विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गर्नुभयो ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङले सम्पूर्ण सुविधा सहित निर्मित भवन, शौचालय, खेलमैदानको व्यवस्थाले यस विद्यालय दुप्चेश्वर कै नमूना विद्यालयको रुपमा स्थापित भएको उल्लेख गर्दै पूर्णिमा कार्यक्रम र गाउँपालिका बीच लामो सहकार्य भएको र गापाका दुई विद्यालयहरुमा निर्मित भौतिक सरंचनाहरुको लागि पूर्णिमा कार्यक्रमलाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त विद्यालययको प्रत्येक कक्षा कोठामा तथा अफिस कोठाको लागि फर्निचर , बालबालिकाको लागि खेल पार्क तथा खेल सामाग्री, हात धुने स्थान लगायतको व्यवस्था समेत गरिएकाले पनि नमूनायोग्य काम भएको उहाँको भनाई छ ।
यस्तै, दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष अन्जु आचार्य र दुप्चेश्वर गाँउपालिका वडा नं. ६ का वडाअध्यक्ष किशोर आचार्यले दुप्चेश्वरमा भए गरेका विकास निर्माणका कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै असाध्यै दुःखका साथ कमजोर भौतिक अवस्थामा पढाई सन्चालन हुँदै आएकोमा नवनिर्मित भवन, खेल सामाग्री लगायतका सुविधाले पढाईस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयको भवन हस्तान्तण समारोहमा मटम्याकडोनाल्डका श्रेत्रीय प्रतिनिधि साइमन होवार्थले भवनहरु निर्माण गरी समयमै हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सप्रोस नेपालका कार्यकारी निर्देशक डा.सुनित अधिकारीले विभिन्न कठिनाइका वावजूद भवन लगायतका पूर्वाधारहरु निर्माण सम्पन्न गरी विद्यार्थीले प्रयोग गर्ने गरी हस्तान्तरण गर्न पाएकोमा प्रसन्नता प्रकट गर्दै भविष्यमा शैक्षिकस्तर अभिबृद्घिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सप्रोस नेपालको तर्फबाट विद्यालय भवन निर्माण कार्यक्रम संयोजक केशबबाबु पौडेलले भवन निर्माण परियोजना सम्बन्धित मुख्य गतिविधि तथा निर्माणमा भएको खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालय भवन निर्माण कार्यक्रम संयोजक केशबबाबु पौडेलको अनुसार जम्मा ७ कक्षा कोठाहरु भएको दुई भवनहरु, लैङ्गिक मैत्री शौचालय, १४८ मिटर घेराबार, २३१ घ.मी. रिटेनिङ्ग वाल, इन्टेक तथा १९६५ मिटर पाईपलाइन बिछयाएर दिगो खानेपानीको श्रोत व्यवस्थापन, प्र्रत्येक कक्षा कोठामा तथा अफिस कोठाको लागि फर्निचर, बालबालिकाको लागि खेल उद्यान तथा खेल सामाग्री, हात धुने स्थान निर्माण गरिएको छ । मूल सम्झौता रकम १,९५,८९,४३४ रुपैयाँ भएपनि निर्माणका क्रममा स्थानीय भूगोलका कारण लागत पूर्वअनुमान भन्दा थप सरंचनाहरुको निर्माण र बर्षायाममा ढुवानीमा भएको अतिरिक्त खर्चको कारण कूल रकम २, २५,८ १,८१८ रुपैयाँ उक्त परियोजना खर्च भएको छ । उक्त विद्यालयमा छात्रा ८४ जना र छात्र ७८ जना गरेर कुल १६२ जना विद्यार्थी र सातजना शिक्षक रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा निर्माण गरिएको नयाँ भवन हस्तान्तण कार्यक्रममा थानीय अभिभावक, विद्यार्थी, समाजसेवी, विद्यालय भवन निर्माणमा प्रत्यक्ष सलंग्न मट म्याकडोनाल्ड, जिइओसिई कन्सल्ट्यान्ट, सप्रोस नेपाल, गाउँपालिका कार्यालयका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा अन्य प्रतिनिधहरुको उपस्थिति रहेको थियो ।




25.94¡ÆC