अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै

माघ २४, २०७८ मा प्रकाशित | 517 views

काठमाडौँ । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ ।

युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदैछन् ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । यूएई जाने मिति र समय भने खुलाइएको छैन ।

नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि (यूएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए ।

छलफलमा उनले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।

मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए ।

मन्त्री श्रेष्ठको यूएई भ्रमणका क्रममा नेपाल-युएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web