नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

मंसिर २९, २०७८ मा प्रकाशित | 424 views

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो । बिजयी हुनुभएका देउवाले २ हजार ७३३ मत ल्याउनुभयो भने पराजित हुनुभएका शेखर कोइरालाले १ हजार ८५५ मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६७९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।

सबैभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको जित सहज भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web