हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मंगलबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री र राज्यमन्त्री नियुक्त गरिएको छ । माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट दुई मन्त्री नियुक्त भएका हुन् । पाण्डेले मन्त्री र राज्यमन्त्री नियुक्त गरेसँगै मंगलबार नै प्रदेशप्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका छन्।
माओवादीका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीका वसन्तकुमार मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइ, बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री र इन्द्रमाया गुरुङ कृषि तथा पशुपन्छी राज्यमन्त्री बनेकी छिन् । राज्यमन्त्री गुरुङलाई मुख्यमन्त्री पाण्डेले शपथ गराएका हुन् ।
बागमतीमा गत १५ मंसिरको मन्त्रिपरिषद्को निर्णयअनुसार आठवटा मन्त्रालय फुटाएर १४ बनाइएको छ। सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीमा भागबन्डा मिलाउन दलहरूको सहमतिमा मन्त्रालय फुटाइएको हो।
25.12¡ÆC