मुख्यमन्त्री आचार्यले विश्वासको प्रस्ताव राख्ने

कार्तिक ५, २०७८ मा प्रकाशित | 400 views

मोरङ । प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बोलाएका छन् ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले एमालेका १० प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय भदौ २५ मै गरेको थियो । उक्त निर्णयअनुसार मुख्यमन्त्री आचार्यले असोज २३ भित्रै विश्वासको प्रस्ताव राख्नुपर्ने थियो । तर मुख्यमन्त्री आचार्यले असोज २५ मा मात्रै विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई दिएका थिए ।

प्रदेशसभा नियमावलीको नियम १२८ (१) मा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न ३० दिनभित्र प्रस्ताव पेस गर्ने सूचना सचिवलाई दिनुपर्ने उल्लेख छ । नियम १२८ (२) मा उपनियम (१) बमोजिम दिइने सूचना प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिनअगावै दिनुपर्ने भनिएको छ ।

सचिव पराजुलीले शुक्रबार बिहान १०ः३० बजे सभामुख भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको जानकारी दिए । ‘कार्यव्यवस्था परामर्श समितिले निर्धारण गरेको कार्यसूचीअनुसार प्रदेशसभा बैठक अघि बढ्छ,’ उनले भने । प्रदेशसभा बैठकमा अन्य बिजनेस भने छैन ।

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले शुक्रबार मुख्यमन्त्रीले विश्वासको मतका लागि बैठकमा प्रस्ताव राख्ने बताए । प्रमुख प्रतिपक्षी कांग्रेसका नेता राजीव कोइरालाले मुख्यमन्त्री आचार्यले आफैंले निर्माण गरेको संविधानको उल्लंघन गरेर असंवैधानिक रूपमा मुख्यमन्त्री बनिरहनु आपत्तिजनक भएको बताए । उनले मुख्यमन्त्री आचार्यले असंवैधानिक रूपमै सरकारको आयु लम्ब्याउन खोजिरहेको आरोप लगाए । मुख्यमन्त्री आचार्यले सदनमा विश्वासको प्रस्ताव राखेपछि गठबन्धन दलका सबै सांसद मिलेर विफल बनाउने कोइरालाले बताए ।

एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बाढीपहिरोका नाममा सरकारले अझै केही दिन आयु लम्ब्याउन खोजेको आरोप लगाए । ‘मुख्यमन्त्री आचार्य हिउँदे अधिवेशन सुरु भएकै दिनदेखि स्पष्ट रूपमा सदनमा अल्पमतमा परेको देखिनुभएको छ,’ उनले भने, ‘अब मुख्यमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव राखेपछि गठबन्धन दलका सबै सांसद एकजुट भएर औपचारिक रूपमा अल्पमतमा रहेको सिद्ध गर्छौं ।’

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ । ९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web