नेपालले श्रीलङ्कालाई ३–२ गोलले हरायो

अशोज १९, २०७८ मा प्रकाशित | 423 views

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो ।

खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो ।

श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web