जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’

अशोज १४, २०७८ मा प्रकाशित | 413 views

काठमाडौं । अफगानिस्तानमा यसअघिको सरकारको पालामा न्यायाधीश रहेका २२० भन्दा धेरै अफगान महिला न्यायाधीश अहिले तालिबानको डरको कारण लुकेर बसेका छन् । तालिबानले सजाय दिन सक्ने आशंकाले उनीहरु अहिले लुकेर बसेका हुन् ।

बीबीसीले अफगानिस्तानमा लुकेर बसेका ६ महिला न्यायाधीशसँग कुराकानी गरेको छ । सुरक्षाको कारण यहाँ उनीहरु सबैको नाम परिवर्तन गरिएको छ । मासुमाले न्यायाधीशको रुपमा रहँदा धेरै पुरुषलाई महिलाविरुद्धको हिंसा, बलात्कार, हत्या र यातना दिएको आरोपमा सजाय दिएकी थिइन् । तर, तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै हजारौं दोषी अपराधीहरु जेलबाट रिहा भएका छन् । यसरी रिहा भएका मानिसहरुले अहिले न्यायाधीशहरुलाई धम्की दिन थालेका छन् ।

मासुमालाई अहिले नौलो नम्बरबाट टेक्स्ट म्यासेज, भ्वाइस नोटहरु आउन थालेका छन् । मासुमा भन्छिन्, ‘त्यतिबेला आधा रातमा हामीले तालिबानले जेलमा बन्दी जीवन बिताइरहेका सबै कैदीलाई रिहा गरिरहेको छ भन्ने सुन्यौं । त्यसपछि हामी तत्कालै घरसहित सबै कुरा छाडेर भाग्यौं ।’

पछिल्लो २० वर्षमा अफगानिस्तानमा २७० महिलाले न्यायाधीशको रुपमा काम गरिसकेका छन् । उनीहरुमध्ये धेरैले मुलुकमा प्रसिद्धि पाएका थिए, जसलाई मनिसहरुले सहजै चिन्थे ।

‘शहरमा कारमा यात्रा गर्दा मैले बुर्का लगाएको थिएँ ताकि मलाई कसैले पनि नचिनुन्, सौभाग्यले हामीले तालिबानको चेकप्वाइन्ट पार गर्‍यौं,’ उनले भनिन् ।

बीबीसीका अनुसार अहिले अफगानिस्तानमा २२० महिला न्यायाधीशहरु लुकेर बसिरहेका छन् । विभिन्न प्रान्तमा रहेका उनीहरुले अन्तर्वार्ताको क्रममा एउटै कुरा गरेका छन् । उनीहरु सबैले यसअघि जेल सजाय सुनाएका तालिबानका सदस्यले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

दोषीको धम्की : बाहिर निस्किएपछि बदला लिन्छु

मासुमाले आफ्नो घर छाडेसँगै उनलाई छिमेकीले म्यासेज गरेर तालिबान उनीहरुले घरमा आएको जानकारी दिएका थिए । छिमेकीले उनलाई खोज्न आउने मानिसको हुलिया बताएसँगै मासुमाले आफूलाई खोज्न को मानिस आएको हो भन्ने चाल पाइन् । तालिबानले अफगानिस्तानमा कब्जा गर्नुभन्दा केही महिना पहिला तालिबानका एक सदस्यलाई मासुमाले आफ्नी पत्नीको हत्याको आरोपमा दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाएकी थिइन् ।

उनी भन्छिन्, ‘मलाई अहिले पनि हत्या गरिएकी महिलाको अनुहार याद छ । उनको निकै विभत्स तरिकाले हत्या गरिएको थियो । यो मुद्दा सकिएपछि अपराधीले मलाई सम्पर्क गरेर बाहिर आएपछि आफ्नो पत्नीको जस्तै अवस्था मेरो पनि गरिदिने धम्की दिएको थियो ।’

‘त्यतिबेला मैले यसलाई गम्भीरतापूर्वक लिएको थिइनँ तर तालिबान सत्तामा आएपछि भने उसले मलाई धेरैपटक फोन गरेर अदालतको कार्यालयबाट मेरो सबै जानकारी लिइसकेको बताएको थियो,’ उनले थपिन्, ‘उसले मलाई भनेको थियो– मैले तिमीलाई खोज्नेछु र आफ्नो बदला लिनेछु ।’

बीबीसीका अनुसार अहिले अफगानिस्तानमा २२० महिला न्यायाधीशहरु लुकेर बसिरहेका छन् । विभिन्न प्रान्तमा रहेका उनीहरुले अन्तर्वार्ताको क्रममा एउटै कुरा गरेका छन् । उनीहरु सबैले यसअघि जेल सजाय सुनाएका तालिबानका सदस्यले ज्यान मार्ने धम्की दिएको बताएका छन् । यसरी धम्की दिनेमध्ये चारजना आफ्नी पत्नीको हत्यामा संलग्न रहेको आरोपमा जेल सजाय भोगिरहेका पुरुष थिए । सबै पूर्व न्यायाधीशहरुले ज्यान मार्ने धम्की आएपछि कम्तीमा एकपटक आफ्नो नम्बर परिवर्तन गरिसकेका छन् । साथै उनीहरुले निश्चित समयमा आफ्नो डेरा पनि परिवर्तन गरिरहेका छन् । उनीहरुका अनुसार तालिबानका सदस्यहरु अहिले पनि आफ्नो घरमा आइरहन्छन् र उनीहरु अहिले कहाँ बसिरहेका छन् भन्नेबारे सोधिरहन्छन् ।

के भन्छ तालिबान ?

यी सबै आरोपबारे तालिबानका प्रवक्ता बिलाल करिमीले भने, ‘महिला न्यायाधीशले अन्य महिलाजस्तै विना कुनै डर बाँच्नुपर्छ । कसैले पनि उनीहरुलाई धम्क्याउनु हुँदैन । हाम्रो विशेष सैन्य एकाईले यी उजुरीबारे अनुसन्धान गर्नेछ र कुनै कानून उल्लंघन भएको छ भने कारबाही हुनेछ ।’

यसका साथै तालिबानले यसअघि नै गरेको वाचाअनुसार अफगानिस्तानको पूर्व सरकारका सबै कर्मचारीलाई ‘आम माफी’ दिएको उनले बताएका छन् । उनले भने, ‘हाम्रो आममाफी साँचो छ तर कोही मानिस मुलुक छाडेर जान चाहन्छ भने हाम्रो निवेदन छ कि यसो नगर्नुहोस् र आफ्नै देशमा रहनुहोस् ।’

कैदीहरुलाई जेलबाट छाड्दा त्यतिबेला तालिबानसँग सम्बन्ध नभएका कैदीको संख्या ठूलो थियो । पढेलेखेका र शिक्षित यी महिला पहिला परिवारमा कमाउने एकमात्र सदस्य थिए । तर, अहिले भने उनीहरुको तलब आउन बन्द भइसकेको छ र उनीहरुको बैंक एकाउण्ट पनि बन्द गरिएको छ । अब उनीहरुलाई जीवित रहन आफ्ना इस्टमित्रसँग हात फैलाउनुपर्ने अवस्था आएको छ । महिला न्यायाधीशहरुले यसअघि तालिबानका साथै आईएसका सदस्यलाई पनि सजाय दिएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web