जिल्ला सभापतिहरुको अनशन तोडाउँदै कांग्रेस

भदौ १२, २०७८ मा प्रकाशित | 459 views

कामाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु सहमति नजिक पुगेका छन्। शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका थिए।

छलफलपछि नेताहरु अनशन तोडाउन सहमति नजिक पुगेको धादिङ कांग्रेसका जिल्ला सभापति रमेश धमलाले जानकारी दिए। १४ औं महाधिवेशन संघारमा आए पनि क्रियाशील सदस्यता विवरण सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरुले बुधवारबाट अनशन थालेका थिए। कांग्रेसले अहिलेसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ।

‘जिल्ला सभापतिहरुको तीनवटै माग सम्बोधन हुनुपर्‍यो भनेर हामीले भनेका छौ। क्रियाशील विवाद छानविन समितिका तर्फबाट जिम्मा लिएर आज १२ बजेसम्ममा अनशन तोडाउने कुरा भएको छ,’ छलफलपछि धादिङका कांग्रेस सभापति धमलाले भने। धमलाका अनुसार जिल्ला सभापतिहरुको अनशन तोडाउन क्रियाशील विवाद छानबिनको जिम्मा पाएका नेताहरु कृष्ण सिटौला, रमेश लेखक र डा मीनेन्द्र रिजाल सानेपामा पुग्नेछन्।

चाक्सीबारीमा छलफलका क्रममा जिल्ला सभापतिहरुले १८ गते वडा अधिवेशन हुने मिति टर्दै गएकोले केही दिन सार्नुपर्ने सुझाव दिएका थिए। वडा अधिवेशन भदौ २३ भित्र हुने गरी नयाँ मिति भएमा राम्रो हुने सुझाव दिए पनि संवैधानिक संकट टार्न संस्थापन पक्षले भने १८ गते नै वडा अधिवेशन गर्न चाहेको बताइएको छ। यद्यपि क्रियाशील विवाद सबै ठाउँमा नटुंगिएकाले सबै टुंगोमा पुर्‍याएर भदौ २२ गते वडा अधिवेशन गर्न उपयुक्त हुने सुझाव आफूहरुले दिएको धमलाले बताए। अन्य मागबारे भने निर्वाचन निर्देशिका संशोधन गर्ने गरी विवाद छानबिन समितिले जिम्मा लिने कुरा आएको उनले बताए।

कार्यक्रमपछि कांग्रेस नेता प्रकाशमान सिंहले भने १८ गतेकै मितिमा देशभरका वडाहरुमा महाधिवेशन प्रारम्भ गर्ने निर्णय भएको बताए। जिल्ला सभापतिहरुको माग पुरा हुने वातावरण बनेकाले यही मितिमा वडा महाधिवेशन हुने सिंहले बताएका हुन्। ‘१८ गतेकै मितिमा ६ हजार ७४३ वडाहरुमा महाधिवेशन प्रारम्भ गर्ने निर्णय भएको छ। रिले अनशनमा बस्नुभएका जिल्ला सभापतिहरुको माग पुरा हुने वातावरण बनेको छ। अब महाधिवेशनमा एकजुट भएर लाग्ने कुरा भएको छ। माहोल पनि त्यही अनुसार भएको छ,’ नेता सिंहले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web