काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो, थप हमला हुनसक्ने चेतावनी

भदौ ११, २०७८ मा प्रकाशित | 525 views

एजेन्सी । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ ।

मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन् । अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन् । ‘तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,’ उनले भने ।

अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ ।  तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन् । बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन् ।

आफूलाई काबुलमा खटिएका कमान्डरहरूले अमेरिकी र अफगान नागरिकहरूको उद्धार अगस्ट महिनाको अन्त्यसम्ममा सम्पन्न गर्न सकिने बताइएको बाइडनले जानकारी दिए । हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ ।

काबुल हमला : तालिबानले भन्यो, ‘बिस्फोटमा अमेरिकीभन्दा हाम्रा मानिसहरु धेरै मारिए’
तालिबानका एक अधिकारीले भने, ‘काबुल विमानस्थलमा भएको बिस्फोटमा अमेरिकीभन्दा बढी हाम्रा मानिसहरु मारिएका छन् ।’
यद्यपि, उक्त हमलापश्चात् पनि उनीहरुले अमेरिकीलाई ३१ अगस्टपछि अफगानिस्तानमा बस्न कुनै आवश्यकता नभएको बताएका छन् ।
बिहिबार राती काबुल विमानस्थलको बाहिरी हिस्सामा भएका दुई बिस्फोटमा कम्तीमा ९० जना मारिएका छन् जसमा १३ अमेरिकी सैनिक पनि समावेश छन् ।
इस्लामिक स्टेटको एक सहयोगी संगठनले उक्त हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web