काठमाडौँ । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ ।
एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् ।
यद्यपि दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ । ‘हाम्रो २०३ जनाको केन्द्रीय कमिटी थियो, त्यसमा १९१ जना बहाल हुनुहुन्थ्यो । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत गर्यौं, ‘ नेता राजेन्द्र पाण्डेले भने, ‘त्यसअनुसार निर्वाचन आयोगले हामीलाई दलको प्रमाणपत्र दिएको छ ।’

26.12¡ÆC