पार्टी एकताको पर्खाइमा रहेको नेता नेपालको भनाइ

साउन ३०, २०७८ मा प्रकाशित | 601 views

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको बताउनु भएको छ ।

वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राख्नुभयो । शनिबार वाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पार्नु भयो ।

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ छ ।

‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नु हुँदैन’ उहाँले भन्नुभयो, ‘तर त्यो अन्तिम उपाय मात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा रहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराउनुभयो । उहाँले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासकाे मत दिनु परेको पनि दोहोर्‍याउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web