क्रियाशील सदस्यता विवाद ५ दिनभित्र टुंग्याउने कांग्रेसको निर्णय

साउन १४, २०७८ मा प्रकाशित | 453 views

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

विवादित विषयहरुलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘आजको छलफल परामर्शपछि केन्द्रीय नेताहरुको तहमा प्रस्तुत गरिएका विषयहरु, निर्णयका लागि प्रस्तुत गरिएका विषयहरुमा केन्द्रीय नेताहरुको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ । र उहाँहरुले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरु प्रक्रियाहरु पनि अगाडि बढ्छन् । अरु पार्टीबाट आएका मानिसको समायोजन गर्ने विषय छन् । ५ दिनभित्र नेताहरुले निर्णय गर्ने भनिएको छ । त्यसपछि निर्वाचन समितिका कामहरु अघि बढ्छन् ।’

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते नै प्रतिवेदन बुझाइसकेको छ । कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र ४, सर्लाही क्षेत्र २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web