५५औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा नुवाकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १७ जना दाताले रक्तदान गरेका छन् ।
“सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा” भन्ने नाराका साथ मनाइएको रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा रक्त सञ्चार केन्द्र कोलनीमा आयोजित रक्तदान कार्यक्रममा १७ जना दाताले रक्तदान गरेको केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभएको छ ।

रक्तदान गर्नेमा केही पहिलो पटक दान गर्ने दाता रहेका थिए भने नाम दर्ता गर्नेको सङ्ख्या धेरै भएपनि रगतको तत्कालै आवश्यकता नभएकाले उनीहरुलाई आवश्यक परेको समयमा पछि सम्पर्क गर्ने भनेर तयारी अबस्थामा राखिएको छ ।
केन्द्र प्रमुख लक्ष्मी श्रेष्ठको अनुसार हालै सम्पन्न भएको आर्थिक वर्षमा नुवाकोटका ७१२ जना दाताले रगत दान गरेका छन् । दाताले दिएको रगत नुवाकोटमा प्रयोग गरेर आवश्यक नभएको एकसय पिन्ट भन्दाबढी रगत रक्तसञ्चार केन्द्र भक्तपुरमा पठाइएको छ ।
५५औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा बल्ड अन रिक्योस्ट इन नुवाकोटको सहजिकरणमा नेपाल रेडक्रस सोसाईटी नुवाकोट जिल्ला शाखा मार्फत आयोजित रक्तदान कार्यक्रमको शुभारम्भमा रेडक्रस नुवाकोटका मन्त्री हरि श्रेष्ठ, उप–कोषाध्यक्ष एंव रेडक्रसको स्वास्थ्य सेवा ईकाई प्रमुख उद्धवशर्मा रिजाल, उपमन्त्री सिता वाइवा, बल्ड अन रिक्योस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेल, रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठ लगायतले रक्तादानको महत्व, समस्या एंव भावी योजनाको बारेमा मतव्य राख्नुभएको थियो ।

बल्ड अन रिक्योस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले रक्तदानको महत्व बढाउन रक्तदान कार्यक्रमलाई क्याम्पस र विद्यालयतहदेखि स्थानीयतहदेखि वडातहसम्म पुराउन आवश्यक रहेको बताउनुभयो ।
“नुवाकोटमा रहेका ८८ वटा वडा, १२ वटा स्थानीयतह र एकसय भन्दा बढी मावि अध्यापन गराउने विद्यालय र क्याम्पस भएकाले उमेर पुगेका समूहबाट रक्तदान र उमेर पुग्न बाँकीलाई रगतको समूह पहिचान गर्दै रक्तदानको महत्व बढाउन आवश्यक छ ।” प्याकुरेलले भन्नुभयो “नुवाकोटमा हाल बल्ड अन रिक्योस्ट इन नुवाकोटमा १२०० सदस्य आबद्ध रहेकोमा क्रमशः बढाएर तीन हजार पुराउन सकिने छ ।”














22.58¡ÆC