कोरोनाको हट स्पट बन्यो झापा : जति जाच्यो उति सक्रमित

साउन ११, २०७८ मा प्रकाशित | 379 views

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक उपलब्ध गराउने कोरोना संक्रमितको सङ्ख्याको जिल्लागत रूपमा हेर्दा झापाले काठमाडौँलाई पछ्याइरहेको छ। अर्थात्, सबैभन्दा धेरै कोरोना संक्रमित थपिने जिल्लाको सूचीमा काठमाडौँपछि झापा पर्दै आएको छ।

पछिल्लो केही दिनयता झापामा कोरोना संक्रमितको दर ह्वातै बढेको छ। ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको सूचीमा झापा पर्न थालेको धेरै भइसक्यो। संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि आइतवार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएसी)ले आवश्यकता अनुसार स्थानीय तहलाई निषेधाज्ञा गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको छ।

निर्णयअनुसार आजबाट दमक नगरपालिकामा सिल गरिएको छ। मानिसलाई घरबाट समेत ननिस्कन आह्वान गरिएको छ। दमक झापाको शहरी क्षेत्र हो। व्यापारिक केन्द्र भएकाले पनि यहाँ मानिसको चहलपलबढी हुने गरेको छ। जसले गर्दा पछिल्लो समय संक्रमितको सङ्ख्या र जोखिम दुवै बढेकाले दमकमा साउन १७ गतेसम्म सिल गर्न निर्णय भएको छ।

दमकपछि झापाको अर्को शहर हो बिर्तामोड। बिर्तामोड नगरपालिकामा पनि संक्रमितको सङ्ख्या बढेकाले निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। त्यस्तै, बुद्ध शान्ति गाउँपालिका, कन्काई नगरपालिका र अर्जुनधारा नगरपालिकामा पनि संक्रमितको संख्या बढेकाले कडाइको साथ निषेधाज्ञा गर्ने निर्णय भइसकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख श्रवणकुमार तिमल्सिनाले बताए।

‘केही दिनयता संक्रमितको सङ्ख्या बढेको छ। मानिसको भिडभाड र चहलपहल बढेकाले संक्रमण बढेको हुनाले स्थानीय निकायमा सिल गर्ने निर्णय गरेका हौँ,’ सीडीओ तिमल्सिनाले भने।

अहिले झापा जिल्लामा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्। एन्टिजेन विधि र पीसीआर विधिबाट परीक्षण गर्दा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिएका हुन्। झापामा दुई वटा ल्याबमा पीसीआर परीक्षण हुन्छ। मेची अस्पताल र कोटीहोम ल्याबमा दैनिक ४ सय भन्दाबढीको परीक्षण भइरहेको छ।

३ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनासम्ममा संक्रमण देखिएको छ। एन्टिजेन विधिबाट पनि दैनिक २ सय जना भन्दा बढीको परीक्षण गरिएको छ। ‘एन्टिजेनमा नै २० प्रतिशत भन्दा बढी दैनिक संक्रमित फेला परिरहेका छन्। एन्टिजेनमा २० प्रतिशत फेला गर्नु भनेको धेरै नै हो,’ झापा जिल्लाका जनस्वास्थ्य प्रमुख योजराज घिमिरेले भने।

अहिले झापामा सक्रिय संक्रमितको सङख्या २ हजार ८ सय ६० रहेको छ। जसमा १ हजार ८ सय १८ जना पीसीआर र १ हजार ४२ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा पत्ता लागेका संक्रमित हुन्। अहिलेसम्म झापा जिल्लामा १६ हजार ९ सय ७ जना संक्रमित भइरहेका छन्।
पछिल्लो केही दिन यता ह्वात्तै संक्रमण बढेको देखिएको छ। झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना संक्रमितको सङ्ख्या ह्वात्तै बढ्नुमा खुकुलो पारिएको निषेधाज्ञा र परीक्षण दर बढ्नु भएको तर्क गर्छन्।

‘निषेधाज्ञा लुज भए पछि मानिसको चहलपहल ह्वात्तै बढ्यो। जसले गर्दा शहरी क्षेत्रमा संक्रमण दर बढेर गयो। त्यस्तै, परीक्षण पनि हामीले बढायौँ। त्यसैको परिणाम संक्रमितको संख्या बढ्यो। जहाँ परीक्षण बढाइएको छ, त्यहाँ संक्रमित पनि बढेका छन्,’ सीडीओ तिमल्सिनाले भने।

जिल्ला जनस्वास्थ्य प्रमुख योगराज घिमिरेको पनि एउटै बुझाइ छ। उनी पनि निषेधाज्ञा र परीक्षण दरले नै झापामा संक्रमित थपिएको बताउँछन्। झापाको सीमा छिमेकी राष्ट्र भारतसँग जोडिएको छ। भारतमा पनि संक्रमित थपिइरहेका छन्। खुल्ला सीमाको कारण पनि झापामा संक्रमित देखिएका हुन् त?

‘सीमानाले अहिले खासै फरक परेको छैन। हामीले यसरी सीमाबाट आउनेको एन्टिजेन परीक्षण गरेका छौँ। त्यस्तै, केहीले त पीसीआर रिपोर्ट नै बोकेर आउनुहुन्छ,’ सीडीओ तिमल्सिनाले भने। सरकारले अहिले सीमा नाकाबाट विदेशीलाई आउन रोक गरेको छ।

झापामात्र होइन, अहिले अन्य जिल्लाहरूले पनि निषेधाज्ञा खुकुलो बनाएका छन्। जसले गर्दा भिडभाड बढेको छ। फलस्वरूप कोरोना संक्रमितको सङख्या पनि थपिँदै गएको छ। यता लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई खुल्ला गरेपछि एक जिल्लाबाट अर्को जिल्लामा संक्रमण ट्रान्सफर हुने जोखिम पनि बढेर गएको छ।यो समाचार पहिलो पोष्ट डटकमको लागी पत्रकार सबिन ढकालले तयार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web