अर्घाखाँची जिल्ला अदालत उत्कृष्ट अदालत घाेषित

साउन ५, २०७८ मा प्रकाशित | 411 views

ढअर्घाखाँची । अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्याेट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्याेट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयाे ।

कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्याेट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्याेट गर्ने अदालत बनेको हो । आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका एक सय ४९ थान र गएकाे आर्थिक वर्ष २०७७/०७८ का दुई सय ८० थान गरी चार सय ३० थान मुद्दा रहेकाेमा तीन सय पाँच थान मुद्दा फर्छ्याेट भएको अदालतका स्रेस्तेदार महेश खनालले जानकारी दिनुभयाे ।

अर्घाखाँचीपछि सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७० दशमलव ३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ । अर्घाखाँची जिल्ला अदालतमा अब एक सय २५ थान मुद्दा बाँकी रहेका छन् । अदालतले गएकाे आर्थिक वर्षमा तीन सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा तीन सय पाँच थान अर्थात् लक्ष्यको तुलनामा १०१ दशमलव ६६ प्रतिशत फर्छ्याेट गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनुभयाे ।

यस अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका छन् । गएकाे आवमा जिम्मेवारी सरी आएका ५२ र यस वर्ष नयाँ दर्ता हुन आएका एक सय २३ गरी जम्मा एक सय ७५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । एक वर्षमा एक सय ४२ थान मुद्दा फर्छ्याेट भइ ३३ थान बाँकी रहेका छन् । अदालतमा रहेका सम्पूर्ण मुद्दाको तुलनामा झन्डै ४१ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका पर्ने गरेका छन् ।

अघिल्लो तीन आर्थिक वर्षको मुद्दाको स्थितिलाई तुलना गरी हेर्दा यस आवमा सबैभन्दा बढी मुद्दा परेको र फर्छ्याेट पनि बढी नै भएका छन् । २०७५/०७६ मा तीन सय ८८ थान मुद्दामध्ये दुई सय ६१ थान फर्छ्याेट भइ एक सय २७ थान बाँकी रहेका थिए । त्यस्तै २०७६/०७७ मा तीन सय ४३ थान मुद्दामध्ये एक सय ९४ थान फर्छ्याेट भइ एक सय ४९ थान बाँकी रहेका थिए । आव २०७७/०७८ मा चार सय ३० थान मुद्दामध्ये तीन सय पाँच थान फर्छ्याेट भइ एक सय २५ थान बाँकी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web