काठमाडौ । काठमाण्डौ उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह-मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा भौतिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था गरेका हुन्।

नागरिकको जीविका सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार पारेर उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय भएको हो । आज बिहीबारदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर-बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइनेछ ।

१६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडीमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीमा चालकसहित बढीमा तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।

अत्यावश्यक तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका गाडीलाई जोर-बिजोर प्रणाली लागू हुनेछैन । यस्ता गाडीले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउने छैनन् । उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा-मासुलगायत पसल बिहान ५-११ बजेसम्म र साँझ ५-७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ ।

भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसायलगायत ढुवानीका गाडी दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अनलाइन सेवामार्फत वस्तु, परिकार तथा अरु सेवाको लागि १२ देखि साँझ ७ बजेको समय निर्धारण गरिएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न बिहान ११ देखि ३ बजेसम्मको समय तोकिएको छ । विभिन्न सेवामा आबद्ध कर्मचारीका लागि बिहान ९ देखि १० : ३० सम्म कार्यालय र दिउँसो ३ : ३० देखि बेलुकी ५ बजेसम्म घर फर्किसक्नुपर्ने व्यवस्था छ ।

उद्योग कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्था अनिवार्य रूपमा उद्योग परिसरमा नै क्याम्प स्थापना गर्नुपर्ने छ । घर तथा भवन निर्माण कम्पनीले मजदुरको सबै व्यवस्था निर्माणस्थल परिसरमा नै मिलाउनुपर्ने छ।

भीडभाड हुने क्षेत्र अझै बन्द

गाडी, पसल, व्यवसाय आलोपालो गरेर सञ्चालन गर्न पाइने भए पनि भीडभाड हुने ठाउँ अझै बन्द हुनेछन् । चलचित्र भवन, उद्यान पार्क, पार्टी प्यालेस, मठ मन्दिर, लामो दूरीका गाडी, सामूहिक भोज, पार्टी, जात्रा-मेला, सभा-जुलुस तथा भेलालगायतका कार्यक्रम निषेध गरिएको छ ।

मठमन्दिर, मस्जिद र चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ । धार्मिक तथा सांस्कृतिक चाडवाडका नाममा जमघट, भेला गर्न पाइने छैन।

खेलकुद, जिमखाना, स्विमिङ पुल, मसाज पार्लर, सैलुन, स्पा, प्रदर्शनी चिडियाखानालगायत नागरिकको बाक्लो उपस्थिति रहने स्थान बन्द गरिएका छन् । शिक्षण संस्था पनि खोल्न पाइने छैन ।

19.73¡ÆC