बाघखोर । सोनाम ल्होछार पर्बको अबसरमा बेलकोटगढी नगरपालिकाको बाघखोरमा आयोजित दुई दिने बृहत्त ल्होछार तथा तामाङ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारदेखि शनिबार दुई दिनसम्म चलेको ल्होछार पर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको समापनमा शनिबार नेपाली काँग्रेसको केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले सँस्कृतिको संरक्षण तथा प्रचारको लागी जातीय एकता आवश्यक रहेको बताउनुभयो ।

संबिधानसभाका सभाषद् समेत रहनुभएका उहाँले भाषामा रहेको अस्पष्टता, विकासको प्रतिस्पर्धामा पछाडी रहनुपर्ने अबस्था तथा केही सनातन रितिरिवाजको कारण तामाङ समुदाय पछि परेकाले सबैलाई एकताबद्ध हुनको लागी आह्वान गर्नुभयो । उहाँले तामाङ जातीको उद्गम स्थल अन्य समुदाय भन्दापनि निकै पहिलेदेखि रहेको दाबीगर्दै जातीय मुद्धामा लाग्न भन्दा पनि प्रतिस्पर्धी र क्षमतावान बन्न तामाङ समुदाय सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको दोश्रो तथा समापनको दिन शनिबार विभिन्न साँस्कृतिक कार्यक्रम तथा मनोरञ्जनका साथ सम्पन्न भएको आयोजक समितीका संयोजक सुर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार कार्यक्रममा सुवास मोक्तान, युबी मंग्रेसी, लक्ष्मी स्याङ्तान, उसन लामा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड साँस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई निकै आकर्षित बनाएको थियो ।

बेलकोटगढीको बाघखोरमा अहिलेसम्मकै सभ्य र भव्य रुपमा सञ्चालन गरिएको कार्यक्रमले नगरपालिका भित्र रहेका तामाङ साँस्कृति तथा ऐतिहासिक एंव पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षण गरेर प्रचारप्रसार, पर्यटन प्रबद्धन मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन योगदान पुगेको कार्यक्रम आयोजक तामाङ साँस्कृतिक संरक्षण समितीका बरिष्ठ सल्लाहकार नबराज लामाले जानकारी दिनुभयो ।

21.63¡ÆC