सुर्खेत । सुर्खेत–दैलेख सडकको कटकुवा क्षेत्रमा बेवारिसे गाई भेटिएका छन् । तीमध्ये २३ गाई मृत अवस्थामा छन् । करिब ३० घाइते छन् । नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेखको शीरस्थानमा लैजाने क्रममा बिहीबार राति बीच बाटोमै ट्रकबाट खसालिएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले कानुनी प्रक्रिया पूरा गरी नेपालगन्जबाट ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए।

उनका अनुसार ८ वटा ट्रकमा गाई ल्याइएका थिए। तीमध्ये ५ वटा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएकाे छ। कटकुवा क्षेत्रमा मृत्यु भएका बाहेक कम्तीमा १ सय ५० गाई रहेका डीआइजी जोशीले जानकारी दिए।

पशु चिकित्सकले गाई कसरी मरेका हुन् भन्नेबारे अनुसन्धान सुरु भइसकेको जनाएका छन्। वीरेन्द्रनगनर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले मरेका गाईको ग्रस (बाहिरी) र इन्टरनल (भित्री) पोस्टमार्टम गरिने बताए।

चोटपटकले मरेका हुन् वा कुनै रोगले मरेका हुन् भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनको भनाइ छ। ‘बाहिरबाट हेर्दा मरेका गाईमा चोटपटक लागेको देखिन्छ,’ उनले भने, ‘मृत्युको खास कारण त रिपोर्ट हेरेपछि थाहा होला।’

तस्वीर कान्तिपुर दैनिकको लागी सुर्खेतबाट कलेन्द्र सेजुवालले खिच्नुभएको हो ।

22.89¡ÆC