मलेखु । धादिङका एक युवाले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका बेनीघाट रोराङ गाउँपालिका वडा नं. ४ खहरेका लक्ष्मण गुरुङले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।

निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्षसहित २०६१ सालको सुरुमै मलेसिया हानिए गुरुङ । साहुसँग ब्याजमा ऋण लिएर १ लाख १० हजार म्यानपावर कम्पनीमा दाखिला गरेर मनभरी धन कमाउने अभिलाषा बोकेर उनी मलेसिया पुगे । त्यतिबेला उनको शुरुवाती तलव ४ सय ८१ रिंगेट थियो । त्यसमा पनि कम्पनीले ६० रिंगेट लेवी कटाउँथ्यो । त्यती बेला एक रिंगेट सटही गर्दा १८ रूपैयाँ आउँथ्यो । महिनाभरको कमाइले आफ्नो खर्च र घरपरिवारको खर्च धानेर साहुको ऋण तिर्न हम्मेहम्मे हुने गरेको स्मरण गर्छन् उनी । मलेसियामा बल्लबल्ल साढे तीन वर्ष बिताएर उनी घर फर्किए ।

“विदेश गएर ज्यालामजदुरी गर्नुभन्दा स्वदेशमै काम गर्दा स्वाभिमानी बन्ने सोच पलाएपछि स्वदेश फर्किएँ,” गुरुङले भने, “गाउँमै व्यवसायिक खेती गर्न थालेपछि सफल भएको छु ।” विदेशबाट फर्केपछि १२ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका उनले अहिले त्यसलाई विस्तार गर्दै लगेका छन् । खेती सुरु गर्दा गाउँमा मोटरबाटो र बजारसमेत नभए पनि अहिले सहज हुन थालेको उनको भनाइ छ । “सुरुआती दिनमा भारी नै बोकेर ३ घण्टामा बजार पुग्ने गरेको थिएँ,” उनले भने, “साहुसँग ऋण लिएर सुरु गरेको व्यवसायबाट आएको धेरै जसो आम्दानी बिचौलियाको मुखमा पर्दा दुःख लाग्ने गरेको थियो ।” उनले भने सुरुमा जग्गाको भाडा र साहुको ब्याज तिर्दै ठिक्क हुने गरेको थियो ।
गुरुङले कुडुले फाँटको खेत हिउँदे एक वालीका लागि १२ रोपनी जग्गा २५ हजारमा भाडामा लिएका छन् । उनले ३ जनालाई नियमित रोजगारी दिएका छन् ।

यतिवेला लौका काँक्रो टिप्ने बेला भएको छ । घिरौंला र करेला केही दिनपछि टिप्न सुरु हुन्छ । हरेक दुईपछि एक टन टिप्दै आएको र काँक्रो ५० रूपैयाँ र लौका ३५ रूपयाँमा विक्री भएको गुरुङले बताए । यही मूल्य कायम रहे अघिल्लो वर्षको घाटा पूर्ति हुनेमा उनी आशावादी छन् । “दैनिक एक जना कामदारलाई छ सय रूपैयाँ ज्याला, दुई पटक खाना र दुईपटक खाजा खुवाउने गरेका छु,” उनले भने, “नियमित तीन जना र कहीलेकाहीँ त ६-७ जनासम्म काम गर्नेहरू हुन्छन् ।” आफू विदेश ज्याला गरेर आएकाले कामदारको सम्मान गर्नुपर्छ भन्ने बुझेको उनले बताए ।

चार छोराछोरीलाई मलेखुमा कोठा भााडामा लिएर सरकारी स्कुल पढाएका गुरुङको खर्च मासिक १५ हजार र घरखर्च पाँच हजार हुने गरेको छ । कामदारलाई खाना खाजामा दैनिक पाँच सय खर्च हुन्छ । सवै खर्च कटाएर एकवाली तरकारी खेतीबाट राम्रो भाउ आए आठ लाखसम्म बचत गर्न सकिने गुरुङले बताए । श्रीमती सरस्वतीले आफूलाई काममा सहयोग गरिरहेको उनले जानकारी दिए । “हामीले खुशी साथनै कृषिमा लगानी गरेका छौं,” उनले भने, “अहिलेसम्म १५ लाख रूपैयाँभन्दा बढी बचत भएको छ ।”

गाउँमा सडक पुगेसँगै स्वरोजगारको अवसर खुलेको छ । पहिलेको तुलनामा विदेश जाने क्रम घटेको छ । सरकारले कृषकका समस्या बुझेर कार्यक्रम बनाउने र नारामा व्यवसायलाई उतार्ने हो भने सरकारले मल बीउ समयमा सुलभ मूल्यमा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

यो सामाग्रि कारोबार दैनिकका लागी धादिङबाट राजेन्द्र बस्नेतले तयार गर्नुभएको हो ।

20.33¡ÆC