नुवाकोट । नुवाकोटबाट सबैभन्दा धेरै कर बुझाउने हाम्रो बिकास बैंक सम्मानित भएको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको बैंकले सरकारलाई सबैभन्दा बढी कर बुझाएको भन्दै मंसिर ६ गते बिहीबार विदुरमा आन्तरिक राजश्व कार्यालय कलंकीले सातौ कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा हाम्रो विकास बैंकलाई सम्मान गरेको छ ।

उत्कृष्ट करदाता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेललाई आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत कबिराज पौडेलले सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

बैंकले आर्र्थिक वर्ष २०७३÷०७४ मा नुवाकोटबाट सबैभन्दा धेरै कर तिर्ने करदाताको रुपमा रु एक करोड ८२ लाख आयकर दाखिला गरेको कार्यालयले जनाएको छ । उक्त बैक पछिल्लो चार वर्षदेखि निरन्तर नुवाकोटमा उत्कृष्ट करदाताको रुपमा सम्मानित हुदै आएको छ ।

कार्यक्रममा प्रमुख कर अधिकृत पौडेलले कर तिर्नु नागरिकको दायित्व भएकाले तोकिएको समयमा दाखिला गरेमा छुट तथा सुविधाको समेत व्यवस्था रहेको बताए । उनले व्यवसायीलाई कर तिर्नको लागी ढिला नगर्न र छल्ने प्रयत्न नगरी कानूनले निर्धारण गरेको कर तिर्नु नागरिकको दायित्व रहेको स्मरण गराए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत यामबहादुर रानाले कर, त्यसको दायरा र भुक्तानीका प्रक्रियाको बारे यहाँको व्यवसायीलाई जानकारी गराएका थिए ।

सो अवसरमा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षहरु धननारायण चित्रकार, शरणउत्सुक सापकोटा, पूर्व उपाध्यक्ष रमेश श्रेष्ठ, इट्टा व्यवसायी संघका जिल्ला अध्यक्ष जयमान वाइवा, पासाङ ल्यामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खङ्गी, निजी तथा आवाशीय विद्यालय संगठन नेपाल (प्याब्सन)का नुवाकोट अध्यक्ष बुद्धिसागर रिजाल लगायतले कर तिर्नको लागी राज्यको व्यवस्था प्रभावकारी नभएको गुनासो गरे ।

व्यवसायीले कर बुझाउन बालाजुमा रहेको करदाता सेवा कार्यालय मार्फत पाउदै आएको सेवा गत सातादेखि कलंकी स्थित आन्तरिक राजश्व कार्यालयलाई तोकिएको प्रति असन्तुष्टि जनाएका थिए ।

18.12¡ÆC