१० बर्षपछि बिपीमा फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा

पुस ७, २०७४ मा प्रकाशित | 1125 views

चितवन ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ ।
बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे÷नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने गर्छ ।
अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नु पर्ने हो जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ ।
शल्यक्रिया कक्षबाट परीक्षणका लागि पठाइएको मासुलाई माइनस २० डिग्रीमा चिसो बनाएर कडा पारिन्छ । श्रेष्ठले भन्नुभयो, “त्यस्तो मासुलाई परीक्षण गरी क्यान्सर भए÷नभएको हेरिन्छ । जसले गर्दा मासुको कति भाग काटेर फाल्ने भन्ने जानकारी लिन शल्यक्रिया गर्दै गरेको चिकित्सकलाई सहज हुन्छ ।” ३० देखि ४५ मिनेटभित्र नमूना परीक्षणको नतिजा शल्यक्रिया गरिरहेको चिकित्सकलाई दिइने उहाँले बताउनुभयो ।
शल्यक्रिया गर्दै गरेको बिरामीमा क्यान्सर नपाइएमा जे समस्या हो त्यसको मात्र शल्यक्रिया गरिन्छ भने क्यान्सर देखिएमा क्यान्सरले छोएको सबै र केही परसम्मको मासुको भाग काटेर फालिन्छ । अस्पतालको स्थापनासँगै केही वर्ष यो परीक्षण गरिएको भए पनि पछि उपकरण बिग्रिएपछि १० वर्षदेखि यो परीक्षण रोकिएको थियो ।
यसैगरी अस्पतालले उच्च प्रविधिबाट पाठेघरको पानीको परीक्षण (एलबीसी) पनि थालेको छ । डा श्रेष्ठका अनुसार यो प्रविधिले पाठेघरको मुखमा क्यान्सर भए/नभएको सहजै पत्ता लाग्ने गर्छ ।
सामान्य प्रविधिबाट पाठेघरको मुखको पानी परीक्षण गर्दा पानीमा रगतको मात्रा मिसिएर तन्तु प्रष्ट नदेखिने भए पनि उच्च प्रविधिबाट परीक्षण गर्दा रगत हटेर तन्तुहरु प्रष्ट देखिने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web