काठमाडौं ।

आधा दर्जन बढी पटक अनेक कारण स्थगित र सर्दै आएको प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सर्वोच्च अदालतले यही भदौ २७ गते फैसला गर्ने बताएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली सहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासले वादी र प्रतिवादी दुवै पक्षको बहस सुनेपछि प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला २७ गतेका लागि तोकेका हुन् ।

सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

गत साउन १९ गते बहस नसिकएपछि आजका लागि पेशी तोकिएको थियो । सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता टीकाराम भट्टराई, दीपेन्द्र झालगायत बहस गर्नुभएको थियो । सरकारका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठले समेत बहस गरेका थिए ।

सरकारले प्रहरी महानिरीक्षकमा चन्दलाई बढुवा गरेपछि सिलवालले आफूलाई अन्याय भएको जनाई निवेदन भएको थियो । त्यसको सुनुवाइमा अदालतले कार्यसम्पादन र मूल्याङ्कनका आधारमा बढुवा गर्न परमादेश दिएको थियो । अदालतको उक्त आदेशपछि सरकारले प्रहरी महानिरीक्षकमा अर्याललाई बढुवा गरेको थियो ।

अर्यालविरुद्ध पनि सिलवाले निवेदन दायर गरेका थिए । त्यसको सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । त्यसपछि आज बहस सकिएर निर्णय सुनाउने मिति तोकिएको हो ।

15.51¡ÆC