काठमाडौं,जेठ ७ । स्थानीय तह दोस्रो चरणको चुनावको मिति २५ दिन मात्र बाँकी छ तर तराई मधेशका राजनीतिक दलहरूको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा कुन चिह्नबाट लड्ने भनेर टुङ्गो लागेको छैन। वैशाख ७ गते छ दल मिलेर राजपा नेपाल गठन भएको थियो तर आन्तरिक कारणले गर्दा हालसम्म सो पार्टी दर्ता हुन सकेको छैन। स्रोतका अनुसार पार्टीको विधान र घोषणापत्रमा कुरा नमिलेको कारण पार्टी दर्तामा ढिलाइ भएको हो।

छ दलबीच एकीकरण भएको जानकारी निर्वाचन आयोग नेपाललाई जानकारी गराइए पनि हालसम्म दर्ता प्रक्रिया सुरु भएको छैन। सविधान संशोधनको माग राख्दै आएको राष्ट्रिय जनता पार्टीमा एकीकृत भएका दलहरूले पनि निर्वाचनको कुनै पनि प्रक्रियामा हालसम्म भाग लिएका छैनन्। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विभिन्न दल मिलाएर राजपा नेपाल गठन गरेको जानकारी निर्वाचन आयोगमा आएको बताए।

सबै कानुनी प्रक्रिया पूरा गरेपछि पार्टी दर्ता भए पनि चुनाव चिह्न माग गरेअनुसारको छाता पाउन गाह्रो भएको उनको भनाइ छ। निर्वाचन आयोगले छाता चिह्न नराखी मतपत्र समेत छापिसकेको छ। यस अवस्थामा नयाँ शक्ति पार्टीले सङ्घीय समाजवादी फोरम नेपालको चुनाव चिह्न प्रयोग गरेर चुनावमा भाग लिए जस्तै राजपाले पनि अरुको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सकिने सुझाव आयोगले दिएको छ। पुरानो पार्टीका चुनाव चिह्न मतपत्रमा छापिएकाले तीमध्ये कुनै एउटा लिएर चुनाव लड्न सकिने विकल्प राजपालाई छ।

त्यस्तै, कुनै स्वतन्त्र चुनाव चिह्न रोज्ने वा कसैसँग तालमेल गर्ने नभए आफ्नै पुरानो पार्टीको चुनाव चिह्नबाट चुनाव लड्ने विकल्प पनि छ। राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफूहरू चुनावमा जाने नजाने टुङ्गो नलागेको भन्दै चुनावमा गएको अवस्थामा छाता नै चुनाव चिह्न चाहिने र कसरी व्यवस्थापन गर्ने भन्ने काम आयोग र सरकारको भएको बताए। तर कानुनी उल्झन वा अन्य कुनै कारण छाता छाप पाउन नसके अाफूहरूसँग रहेका छवटा चुनाव चिह्नमध्ये कुनै चुनाव चिह्न लिएर निर्वाचनमा जाने प्रष्ट पारे।

राजपा नेपालका अर्का नेता केशव झाले सरकारले आफूहरूको माग पूरा गरेर चुनावको वातावरण तयार पार्नुपर्ने अनि कुन चुनाव चिह्नबाट चुनाव लड्ने त्यो टाउको दुखाइ आफूहरूको भएको र त्यसको व्यवस्था आफूहरूले गर्ने बताए। महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, अनिल झा अध्यक्ष रहेकोनेपाल सद्भावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादीपार्टी मिलाएर राजपा गठन भएको हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

19.12¡ÆC