‘नागरिक एप’ डाउलोड गर्ने दुई दिनमै एक लाख ६२ हजार नाघ्यो

Posted on: January 18, 2021 | views: 509



विदुर । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गएको शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । 

आइतबार साँझसम्म एक लाख ६२ हजार ५०० भन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेको अर्थात खाता खोल्न सफल भएको जनाएको छ ।

धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु, गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरणमा समस्या देखिएको छ ।