ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु

Posted on: April 12, 2021 | views: 493

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना २४/२५ वर्षीय पुरूषकाे पहिचान खुल्न बाँकी छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् ।घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा आइतबार नै म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।