काठमाडौं,मंसिर ६ -मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकताको औपचारिक घोषणा भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी आदान प्रदान गरे ।

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने झन्डामा गाई चिह्न अङ्कित छ । पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी पशुपति शम्शेर राणालाई दिइएको छ भने पार्टीको अध्यक्षमा कमल थापा छन् । मुलुकमा प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा (थापा) र राप्रपा (चन्द) पार्टी पटक–पटक विभाजित र एकीकृत भई २०६२ सालमा भने राप्रपाबाट पुनः विभाजन भई राप्रपा नेपालको जन्म भएको थियो ।

व्यवस्थापिका–संसद्मा अब राप्रपाबाट ३७ जना सांसदले प्रतिनिधित्व गर्ने छन् । संवैधानिक राजतन्त्र अवधारणा बोकेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसात् गरेको राप्रपाले यी दुई दृष्टिकोणमध्ये कसलाई अघि बढाउने भन्ने विषयलाई महाधिवेशनबाट टुङ्ग्याउने छ ।

पार्टी एकता घोषणासभामा अध्यक्ष कमल थापाले दुई पार्टीको एकताले मुलुकको राजनीतिमा बलियो राष्ट्रवादी शक्तिको उदय भएको जिकिर गरे । उनले भने, ‘मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक मार्गचित्र र धारका रुपमा राप्रपा रहनेछ । जनताले भरोसा गरेका अनुभवी र साहसिक नेताले कुशल नेतृत्व प्रदान गर्नेछन् ।’

हिन्दूत्व कायमै

राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको धरातलमा समृद्ध नेपाल निर्माण गर्न आधारस्तम्भ बोकेको राप्रपाले राष्ट्रियतालाई सर्वोपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार तथा हिन्दूत्वलाई सांस्कृतिक र सामाजिक मूल्यमान्यता अनुरुप अघि बढाउने छ – राप्रपा संसदीय दलका नेता थापाले भने ।

राप्रपाको एकीकरणले राजनीतिमा नयाँ अध्याय र पार्टीमा नयाँ रक्तसञ्चार भएको बताउँदै उने भने, ‘हामीलाई धेरैले बारम्बार हेपेका र उपेक्षा गरेको हुँदा एक पटक पार्टीलाई जुरुक्क उठाउनुपर्ने काममा लाग्न आवश्यक छ, त्यसका लागि नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिन्छु ।’

पार्टीका राष्ट्रिय अध्यक्ष राणाले बिग्रँदो राजनीति, खस्कँदो आर्थिक स्थिति, भूकम्पबाट बिचल्लीमा परेका जनताको चाहनाले पार्टी एकतालाई मलजल गरेको बताए । उनले भने, ‘९५ प्रतिशत हिन्दू बसोबास गर्ने मुलुकको नयाँ संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनुपर्छ, हिन्दूधर्म कायम गर्ने कि नगर्ने भन्नेबारे जनमतबाट छिनोफानो हुनुपर्छ, जनमत नगर्ने हो भने राप्रपाले त्यसका लागि हुने आन्दोलनको नेतृत्व गर्नेछ ।’

पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पार्टीको महाधिवेशनलाई आगामी निर्वाचनका लागि आधार तयार गर्ने काममा पनि उपयोग गर्न सक्नुपर्छ –भने ।

वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको दृष्टिकोण बोकेको राप्रपाले नेपाल र नेपालीको पहिचान दिने पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै धर्मनिरपेक्षताका नाममा हिन्दू र बौद्ध धर्म तथा सभ्यतालाई ध्वस्त बनाउने षड्यन्त्रलाई रोक्न आवश्यक रहेको धारणा राखे ।

अर्का वरिष्ठ नेता विश्वबन्धु थापाले प्रजातन्त्र भनेको अरुको सम्मान हो भन्ने पक्षलाई बुझेर नाम मात्र मिलेर हुँदैन काम र मन मिल्नुपर्छ भन्ने भावना सबै नेता तथा कार्यकर्तामा देखियोस् भने । सो अवसरमा नेता बुद्धिमान तामाङ, राजीव पराजुली, दीपक बोहरा, मोहन यादव, कुन्तीकुमारी शाही, धवलशम्शेर राणालगायतले नेताको बुद्धिमता, जनताको चाहना र कार्यकर्ताको दबाबमा पार्टी एकतालाई सम्भव बनाएको राखे । रासस

18.12¡ÆC