१८ असोज, काठमाडौ । नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत नवरात्रीको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आरधना गरी मनाइदै छ । कुष्माण्डा देवीको पूजागर्न देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको बिहानैदेखि चहलपहल सुरु भइसकेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने गरिएको छ ।
घटस्थापनादेखि दशैंको टीकाको नौं दिनसम्म हरेक दिन छुट्टा छुट्टै देवीका स्वरुपको पूजा गरिने भएकाले दशैंलाई नवरात्रीको रुपमा मनाइने गरिएको छ । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं पर्व दुर्गा पूजाको नामले पूज्ने गरिएको छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा समेत हिन्दुधर्मालम्वीहरुले पूज्ने गरेका छन् । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको हिन्दु धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।
उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्तिको रुपमा समेत कुष्माण्डा देवीमा महिमा गर्ने गरिएको छ । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएर त्यसबाट नै सृष्टिका आधार वस्तु भएको समेत शास्त्रहरुमा बर्णन गरिएको छ । उहँको एक हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा र अर्को हातमा भक्तजनलाई सिद्धि र निधि दिन सक्ने जपमालाको रुपमा बुझिने गरिएको छ ।
देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो ताप शक्ति दिएर प्रज्ज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
कुष्माण्डाको लौकिक अर्थको रुपमा कुभिण्डोलाई लिने गरिएको छ । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा बलीको सट्टामा पूजा बली समेत चढाउने प्रचलन रहेको छ । आजको दिन कुष्माण्डा देवीको पूजा पाठ, भक्ति तथा आरधना गर्नाले आयु, यश, बल एवं आरोग्यको समेत बृद्धि हुने हिन्दुधर्मालम्वीहरुको जनविश्वास रहेको छ ।

16.54¡ÆC