प्रगति पथ पछ्याइरहेका ओमको कर्म र जापान अनुभव

फाल्गुन ७, २०७३ मा प्रकाशित
Published at 2017-02-18

3147 views

जापानमा रहेका नेपालीमाझ परिचित छन् । व्यवसाय, प्रवासि नेपालीको नेतृत्व, सामाजिक संघसंस्थामा संलग्नता अनि सामाजिक सेवामा सक्रिय यि व्यक्ति जापानमा आफ्नै बलबुताले सफलताको फड्को मार्ने थोरै नेपाली मध्येमा पर्छन् ।

कर्म र कुशल व्यवस्थापनले सफलताको सिँढि नभई फड्को मारिरहेका उनि हुन् ओम गुरुङ । जाँगर, जोशसँगै नेतृत्वको कुशल होसको अनुभव समेत संगालिरहेका गुरुगं गैरआवासिय नेपाली संघ एनआरएन जापान अध्यक्ष हुँदै आइसिसि सदस्य भएका छन् ।

जापानमा नेपालीले आर्जेको रकम सुरक्षित रुपमा नेपालसम्म पुर्याउन कानुनी रुपमा दर्ता भएको पहिलो नेपाली कम्पनी जापान मनि एम्सप्रेस (जेएमई/JME)का अध्यक्ष रहेका गुरुङलाई जापानमा रहेका आदिवासी जनजातीहरुले आफ्ना अभिभावक संरक्षकको रुपमा समेत लिने गर्दछन् । चितवन समाज जापानको सल्लाहकार देखी, तमुधिं जापानको सरक्षक, नेपाल आदिबासी महासंघको पुर्ब अध्यक्ष एबम सल्लाहकार रहेका गुरुगं एकदर्जन बढी संघसंस्थामा आवद्ध छन् ।

पर्वतमा जन्मिएर स्यांजा शिरुवारीमा हुर्किएका गुरुङ, चितवनको बसाईपछि जापान आइपुगे । खाना पकाउने भान्से (कुक भिषा)मा जापान आएर अनेक हण्डर खाएपनि कर्मबाट अविचलित रहँदै निरन्तरको लगन र मेहनतले सफलता पाइरहेका उनै ओम गुरुङसँग टपनेपालन्युजडटकमका लागि गोकर्ण अधिकारीले गर्नुभएको कुराकानी



जापानका नेपाली, कसैले कुनै काममा राम्रो गरे अक्कल नपुर्याइ नक्कल गर्न हाल्छन्

सन् २००१ मा जापान पस्दा सिमित सपना र लक्ष्य बोकेका ओम गुरुङ नेपाली झर्रो शब्दमा भन्दा भान्से कुक भिषामा आएका थिए । भान्से कम नेतृत्व क्षमता बढी देखेपछि रेष्टुरेण्ट सञ्चालक भारतीयले कुशल व्यवस्थापनकै कारण करिव डेढ सय नेपाली र भारतीय कामदार व्यवस्थापनको जिम्मेवारी उनको काँधमा थमाइ दिए ब्रान्च म्यानेजरको रुपमा ।

'त्यहाँ कामगर्ने नेपालीहरुका व्यक्तिगत देखी पारिवारिक, यहाँ बस्दा पाउने समस्याहरुको आफ्नै अनुभव समेतको महशुस गरेर सहयोग गर्दा गर्दै म त कतिकेर लोकप्रिय भइसकेछु थाहै पाइन' रोमान्टिक मुडमा देखिएका गुरुगंले एनआरएन जापान उपाध्यक्षमा बिजयी हुँदाको अनुभव सुनाउँदै भने-'चिनेजानेका र अलि ठूला मान्छेहरुले पनि ल एनआरएनको उपाध्यक्षमा उठ्नुपर्यो तपाई भन्न थाले । सबैले भनेपछि उठेको १० वटा वुथ रहेकोमा २ वटा वुथ मात्र गन्दा मेरो भोट यति आयो कि अरु वुथ गनिराख्नै परेन ।'



कुराकानीका क्रममा स्थान र नाम नखुलाई रोचक प्रशंग कोट्याउँदै जापानमा रहेका नेपालीका स्वभावबारे गुरुगंले भने 'मैले पहिला रेष्टुरेण्ट खोल्दाखेरी पार्टी दिएं, खुव राम्रोसँग पनि चलिराखेको थियो' अनुहार केही विगार्दै उनले थपे 'तर एकबर्षभित्र मेरो रेष्टुरेण्टको १ किलोमिटर वरपर ठ्याक्कै १२ वटा रेष्टुरेण्ट खुल्यो । तर ६ महिना नबित्दै आधाबढी बन्द भए । भनेको कसैले केही काम गरेर सफलता पायो कि त्यहि नक्कल गरिहाल्ने हाम्रो बानी छ । तर अक्कल पुर्याएर नक्कल गर्न समेत जाँगर चलाउँदैनन् ।'

सेवा गर्न जाने एनआरएन जस्तो संस्थामा के को निर्वाचन ?

'सामाजिक संघसंस्थाको नेतृत्वमा जाने भनेको पैसा दिन जाने हो, समय दिन जाने हो, मेरो भन्ने त्यागेर सबैको लागि साझा बनेर योगदान गर्न जाने हो ।' गैर आवसिय नेपाली संघ एनआरएनका आइसिसि सदस्य रहेर भावी नेतृत्वमा समेत माथिल्लो कुनै पदमा आउने ठानिएका गुरुङले जोसिएको आवाजमा थपे 'अनि यस्तो संस्थामा प्रजातान्त्रिक प्रक्रिया भन्दै के को निर्वाचन ? होला यो बापत फलानो संस्थाको फलानो भनेर नाम कमाइएला तर मैले भनेको सबैठाउँमा प्रजातान्त्रिक प्रक्रिया, निर्वाचन भनेर सहि व्यक्ति सहि पदमा नआउन सक्छ । बल भएको, बुद्धि भएको, विद्धान भन्दैमा सबै व्यक्ति सबै ठाउँमा फिट हुँदैन । तर सबै ठाउँमा निर्वाचन मात्र भन्यो भने यस्ता व्यक्ति नेतृत्वमा आएर गलत ठाउँमा गलत व्यक्ति हुँदा हाम्रो देशको जस्तै हालत हुन्छ ।'



'टिमसँग बसेर कन्सल्ट गरेर अघि बढ्छु' एनआरएन भावी नेतृत्वमा दावेदारी र आकांक्षाबारे सोध्दा गुरुङले केही घुमाउरोगरि जवाफ दिंदै अघि थपे 'एनआरएन अध्यक्ष हुनुभन्दा अगाडी आसिसिमा रोशन केसी जिलाई छोडिदिएको हो । हामी दुईजना थियौं भिपि, सबैले ल को हुने भन्ने कुरा गरे, म झन सबैभन्दा बढी मार्जीन भोट ल्याएर जितेको मान्छे रोशन जि सेकेण्डमा भएको मान्छे, मं बरिष्ठ उपाध्यक्ष थिएं मैले नै ल रोशन जि लाई बनाईदिनुस् भनें, मैले छोडिदिएं ।

आफ्नो आकांक्षा भन्दापनि संस्थाको लागि कस्तो व्यक्ति आवश्यकता छ र सामुहिक हितको लागि केही त्याग पनि गर्नुपर्छ' थप प्रस्ट्याउँदै गुरुङले रोचक प्रशंग सुनाउँदै भने 'पछिल्लो पटकको आइसिसिमा पनि म उठ्ने थिइन । राम गिरी, भूषण घिमिरे रोशन जि लगायत ४/५ जनाले ट्याक्सीमा तपाई हुनुस् भने । मैले राम जि लाई, वा भूषण जि रोशन जि अरुलाई हुन भनें । हाम्रो हानाथाप भयो । सबैले मलाई बन भन्ने अनि मैले तपाईहरु बन्नुस् भन्ने । अनि ओर्लने बेलामा हामी चढेको ट्याक्सी चालकले छक्क मान्दै भन्यो मैले जिन्दगीमा पहिलो पटक यस्तो घटना देखें, अरुले म हुन्छु भन्छन् तपाई चाहि तपाई हुनुस्, तपाई हुनुस् भन्छन् तपाई नाइ भन्नुहुन्छ भने । अनि त्यहाँ अन्तिममा सबै साथिहरुले उम्मेदवारी फिर्ता लिए अनि म सहमतीमा नेतृत्वमा आएको हुँ । भनेको त्यसरी सहमतीमा त्यागबाट नेतृत्वमा आएपो सबैको सहयोग पाइन्छ । हानाथाप गरेर पद लिएर पद त पाइन्छ पद छोड्दा काम गरेको केही देखाउन पाईंदैन ।'

एनआरएन भावी नेतृत्वबारे पनि आफुले यहि भनिरहेको भन्दै उनले थप खुलाए 'एनआरएन जापान अध्यक्ष हुँदा केही कामहरु पाइपलाईन सुरुवात हुँदै र भइरहेका थिए । मैंले नेतृत्व दोहोर्याउन पनि सक्थें । तर म भन्दा सक्षम मान्छेपनि आउन सक्छन् । सँधै पद ओगटेर बस्न हुँदैन भनेर बाटो खुल्ला गरिदिएं । भन्न खोजेको पद ओगट्ने र पाउनै पर्छ भनेर लाग्न नि भएन । अरुलाई कामगर्ने अवसर पनि दिनुपर्छ ।'

एक नम्वरमा दर्ता, एक नम्वरको सेवा !



जापानबाट नेपालमा पैसा पठाउने गरि सन् २०१० मा जापान मनि एक्सप्रेस जेएमई ६ नम्वरमा दर्ता भएको थियो । तर नेपालमा पैसा पठाउने पहिलो नेपाली कम्पनीको रुपमा पाउँदा त्यतिखेर खुशी लागेको थियो । नेपालीकै लगानिमा खुलेको पहिलो कम्पनी पाउँदा खुशीसँगै हामीमाथि चुनौतिको पहाड र अवसरको खात थियो । जेएमईका अध्यक्ष रहेका गुरुङ शुभारम्भका दिन सम्झंदै भन्छन् 'जापानमा रहेका नेपालीहरुले अवैध तरिकाले हुण्डि तथा बिदेशी कम्पनीबाट पठाइरहेको रकम विश्वासिलो तरिकाले नेपालमा परिवारको हातमा पुग्न थालेपछि विश्वास गरे र सेवाग्राहिको संख्या सोचेभन्दा बढ्यो ।'

जापानबाट नेपालमा बढी रेमिट्यान्स पठाउने टप थ्री कम्पनीमा जेएमई पर्छ । तर पहिलो नम्वरमा छैन । यसलाई सहर्ष स्विकार्दै गुरुङले थपे 'एक नम्वरको सेवा भने दिएका छौं । दुई बर्षअघिसम्म पनि हामी पहिलो नम्वरमा थियौं । तर अहिलेको यो दिन धेरै समय रहँदैन ।
जापानमा पछिल्लो समय उनकै शब्दमा भन्ने हो भने अरुको नक्कल गर्दै रेष्टुरेण्ट खोल्ने चलन जस्तै रेमिट्यान्स कम्पनी खोल्ने लहर चलिरहेको छ । विश्वासका साथ गुरुगंले भने-'यो अवस्था एक दुई बर्ष चल्ला अब । त्यसपछि क्रमश फेरी छानिन थाल्छन् अनि दुई नम्वरी काम गर्ने र देखासिकि गरेर अक्कल पुर्याएर नक्कल गर्न समेत नजान्नेहरु हराउन थाल्छन् । अनि वास्तविक अवस्था त्यतिखेर देखिन्छ ।'

गुरुगंले दुई नम्वरी काम भन्ने शब्द प्रयोग गरेपछि रेमिट्यान्सको नाममा हुने गरेको हुण्डि कारोबार र अबैध धन्दाबारे उनले कुरा नचपाइकन झनै खुलाउँदै भने-'यहाँ पनी रेमिटेन्सको नाममा हुण्डि कारोवार हुनेगरेको छ ।'



अस्ति ३३ किलो सुन एरपोर्टबाट समातियो । सुन त ल अवैध तरिकाले ल्यायो समातियो । नेपालमा नाफा कमाउन खोज्दा समातियो । त्यसको पैसा पनि त विदेशमा तिर्नुपर्छ होला । त्यो पैसा कसरी कस्ले तिर्ने त करोडौं अर्बौं रुपैयाँ ? चानचुने व्यापारी, नेताले त सक्दैन । यसबारेमा किन अनुसन्धान हुँदैन ? माथिका सबै नमिलि यत्रो अवैध धन्दा संभवनै छैन । जो कोहि नेपालीले बुझ्न सक्छ । अनि दुई तीनजनालाई समातेर थुन्यो सुन भन्सार बुझायो, यत्तिकैमा सकिन्छ ।

यस्तो सुन त हप्तैपिच्छे पचासौं किलो जान्छ नेपाल । नत्र अवैध हुण्डी कारोवार गर्नेहरुको पैसा कहाँ जान्छ ? बैंकिंग च्यानलबाट पैसा भुक्तानी, उसको टन्ज्याक्सन आदिकुरामा किन अनुसन्धान हुन्न ? खाली रेमिट्यान्स आएको छ भन्यो मख्ख पर्यो । निति, नेतृत्व र योजना बिना चलेको देश भनेको यस्तो हुन्छ ।

यतिधेरै कामदार बिदेश जाने, यतिधेरै पैसा देश भित्री रहँदा सरकारले ति कामदारले पठाएको पैसाको निश्चित रकम जलविद्युत उत्पादन, दुरसञ्चार, सुरगंमार्ग जस्ता ठूला परियोजनामा जमानि बसेर लगानी गरे कुनै विदेशीको पाउ पर्नै पर्दैन । लगानी कहाँ गर्ने भनेर खोज्नु पर्छ । अनि लगानीकर्ता छैन भन्यो बस्यो । कसरी हुन्छ बिकास ? भोली जापान, कोरिया, खाडीका देशले नेपाली कामदार बन्द गरिदियो भने के हुन्छ हालत ? अहिलेनै भित्रिएको पैसा लगानि नगर्दा त्यो पैसा अनुत्पादक रुपमा खर्च भएर फेरी बिदेशनै गइराखेको छ । यसलाई देश चलाउनेहरुले बुझ्न ढिला भइसकेको छ ।

नेपाली मनि ट्रान्सफरबाटै पैसा पठाउनुपर्छ, त्यसमा पनि जेएमई नै किन ?



जापानबाट नेपाली कम्पनी भन्दा धेरै रकम बिदेशी कम्पनीले नेपालीको पैसा पठाइराखेका छन् जापानमा रहेका जेआरएफ, एसबिआई, क्योदाई, इजि लिंक, सम्सारा, क्युएस रेमिट लगायत सबै बिदेशी कम्पनी हुन् ।

बंगलादेश, भारत, ब्राजिल, फिलिपिन्स, कोरियन नागरिकले चलाएका यि रेमिटेन्सबाट पैसा पठाउँदा हामीले पठाएको रकम एम दुई रुपैयाँ बढी दर रेटमा नेपाल पुगेपनि यसबापत पाउने मुनाफा भने बिदेशीले कमाइराखेका छन् । देखाउनकै लागि बाहिर एकदुईजना नेपालीलाई कर्मचारीको रुपमा राखेपनि यसको मालिक र मुनाफा नेपालको हितमा भएको छैन ।

नेपालीहरुले जापानमा गर्ने सामाजिक, सांस्कृतिक र राष्ट्रिय चाड र आपतविपतका घटनामा यि कुनैपनि रेमिटेन्सले सहयोग गरेको पाइन्न ।
त्यसैले पनि नेपालीका लागि नेपाली कम्पनी हुनुपर्ने बताउँदै गुरुगं भन्छन्-'हामीले जापानमा आयोजना हुने सामाजिक, सांस्कृतिक कामका लागि प्राय कुनैपनि कार्यक्रमको लागि सहयोग छुटाएका छैनौं के त्यसरी यस्ता बिदेशी कम्पनीले गरिरहेका छन् ? उनले प्रतिप्रश्न गर्दै भने 'उनिहरु कमाउने मात्र हुन नेपालीका लागि होइनन् । यो कुरा जापानमा रहेका नेपालीहरुले बुझ्नुपर्छ ।'



यसै प्रशंगमा आफ्नो कार्यालयमा नेपाल पैसा पठाउन आएका दुई किशोरीले पासपोर्ट बनाउन जान काम गर्ने कम्पनीले समय नदिएको, बनाउन ढिलो भइसकेको बिलौना गरेपछि जापानमा रहेका नेपालीहरुको यो साझा समस्या देखेपछि जापानको मुख्य ८ शहरमा जेएमई कम्पनीको तर्फबाट खर्च गरेर सयौं नेपालीको पासपोर्ट फर्म भर्नुका साथै फोटो खिचिदिएर सबै प्रक्रियामा निशुल्क सहयोग गरेको स्मरण गरे ।


अहिले पनि केही नेपाली कम्पनीले २ देखी ४ हजारसम्म शुल्क लिएर फर्म भरेर दुतावासमा बुझाउने गर्छन् हामीले त्यो सबै निशुल्क गरेका थियौं । ओम गुरुङको प्रश्न छ 'अब भन्नुस् के यस्तो काम यस्ता बिदेशीले चलाएका रेमिटेन्स कम्पनीले नेपालीको लागि सहयोग गरेका छन् र गर्छन कहिल्यै ?'

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.