
४ भदौ, भक्तपुर ।
ईशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर ठिमिको नगदेशमा संचालन भएर सातवर्ष अघि बन्द भएको महाकाली नाच नगदेशमा आजदेखि सुरु भएको छ । आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर विसं.२०६६ सालदेखि बन्द यो नाच स्थानीय युवाहरुको सक्रियतामा आज साँझबाट सुरु भएको हो ।
नाचका गुरु भक्तबहादुर घजुले आर्थिक अभावका कारण बन्द नाच स्थानीय युवाहरुको सक्रियतामा यसवर्षदेखि पुनः संचालनमा आएकाले अब बन्द नहुने बताउनुभयो ।
कार्यक्रममा नाचका संयोजक तुईलाल ज्यापुले गाईजात्राको भोलीपल्ट साँझबाट संचालन हुने महाकाली नाच चारदिनसम्म साँझ करिब ७ बजेबाट सुरु भएर चारघण्टासम्म चल्ने बताउनुभयो । युवापुस्ता रहेको नाचमा ८ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको उहाँको भनाई थियो ।
मल्लकालिन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब आठदेखि १० लाख रुपैया खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरेकोे महाकाली गण नाच व्यबस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिनुभयो ।
त्यसैगरि मध्यपुरथिमीमा आठ वर्ष अघि नै लोपभई गतवर्षवाट स्थानीय युवाको पहलमा संचालन भएको प्रसिद्ध एवं ऐतिहासिक भैरब नाच आजैबाट सुरु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १० तुलननी र कुमाननीका स्थानीयबासिन्दाहरुको पहलमा आज साँझ लायकु दरबारबाट भैरब नाच सुरु भएको नाच संचालन एवं व्यबस्थापन समितिले जनाएको छ ।
यो नाच चाररातसम्म नचाईने जानकारी दिदै उहाँले नाच सञ्चालनका लागि खर्च हुने करिब ८ लाख रुपैया स्थानीयबाट संकलन गरिएको बताउनुभयो ।