कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मत कार्य तीव्र

अशोज २०, २०८३ मा प्रकाशित | 13 views

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मत कार्य तीव्र

काठमाडौँ । पछिल्लो पटक गएको असोज ९ देखि ११ सम्म परेको ठूलो वर्षाले क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्तर्गत म्याग्दी खण्डको मर्मत थालिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने २ सय २ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक बाढी/पहिरोले ५० भन्दा धेरै ठाउँमा अवरुद्ध भएको थियो ।

विभिन्न ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म गाडी सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको झण्डै १२ किलोमिटर दूरीमा अहिले मर्मत कार्य भइरहेको जानकारी दिनुभयो ।

मालढुङ्गातर्फबाट बेनी बैसरी हुँदै कुनौटासम्म झण्डै २५ किलोमिटर सडक हिजो बेलुकासम्म मर्मत सकिएको छ । कुनौटामा कालीगण्डकी नदीको बाढीले झण्डै २५० मिटर सडक कटान गरेको छ । अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्र्याक खोलेर महभीर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

मुस्ताङको स्याउ र भेडाच्याङ्गा बजार पठाउने समय, मुख्य चाडपर्व अनि पर्यटकीय यामसमेत शुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web