बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

अशोज १७, २०८३ मा प्रकाशित | 18 views

बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ ।
नुवाकोटलाई जन्मथलो बनाई राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहतस्वरुप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो ।
समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार गत भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीका कारण सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका २० जना राष्ट्रसेवक कर्मचारी मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो ।
“राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफैँ बाढीमा परी प्रभावित हुनु दुःखद अवस्था हो ।” अध्यक्ष रानामगरले भन्नुभयो “यस दुःखको घडीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा पनि प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ ।”
समाजका अनुसार नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारीमध्ये बाढीका कारण मृत्यु तथा बेपत्ता भएका २० जनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो । बाढीबाट प्रभावित भएका मध्ये ११ जना व्यक्तिको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाँकी परिवारलाई उनीहरूलाई पायक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिनुभयो ।
राहत उपलब्ध गराउन समाजमा आबद्ध ८३ जना कर्मचारीबाट रु दुई लाख ९० हजार संकलन गरिएको थियो । उक्त रकममा समाजको कोषबाट रु दुई लाख थप  गरेर जुटाएर प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको समाजका साधारण सदस्य प्रकाश सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीबाट प्रभावित परिवारलाई आगामी दिनमा आइपर्ने समस्या समाधान तथा आवश्यक सहजीकरणमा समेत समाजले आफ्नो भूमिका निर्वाह गर्नेछ ।
नुवाकोटलाई जन्मथलो बनाई विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीहरूको साझा संस्थाका रूपमा रहेको राष्ट्र सेवक कर्मचारी समाजले जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनमा योगदान पु¥याउने उद्देश्यले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।
समाजले नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, सरकारी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web