बाढीपहिरोले अवरुद्ध सडक आजदेखि क्रमशः खुलाउने तयारी

अशोज १२, २०८३ मा प्रकाशित | 12 views

बाढीपहिरोले अवरुद्ध सडक आजदेखि क्रमशः खुलाउने तयारी

काठमाडौँ । बाढीपहिरोका कारण ५ दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सडकखण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ । पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भैरहेको छ ।

काठमाण्डौ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गएराति बेनीघाट नजिकै अर्को पहिरो खसेको छ । पहिरो हटाएर आज दिउँसोपछि गाडी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ । तर कृष्णभीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाडी सञ्चालनमा ल्याउने तयारी छ ।

काठमाण्डौ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भैरहेको, तर सडक कहिले खुल्छ भन्ने यकिन भैनसकेको काभ्रे प्रहरीले जनाएको छ । मुग्लिन–नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ ।

काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ । बाढीपहिरोले नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल, कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुवाङ–चकचके–लिवाङ सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाडी आवागमन प्रभावित बनेको सडक विभागले जनाएको छ ।

लमजुङ–मनाङ, पर्वत–बागलुङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्क टुटेको छ   । यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सडक बगाउँदा गाडी आवागमन ठप्प बनेको हो। यी ठाउँमा पहुँच सडक बनाएर गाडी चलाउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web