भोटेकोसी–त्रिशूली बाढीको एक महिना : उद्धारदेखि पुनःस्थापनातर्फ

अशोज १०, २०८३ मा प्रकाशित | 2 views

भोटेकोसी–त्रिशूली बाढीको एक महिना : उद्धारदेखि पुनःस्थापनातर्फ

— बसन्त धिताल
सचिव, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट 

भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज एक महिना पूरा भएको छ। यस विपद्मा ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।

यो अवधिमा हामीले अनगिन्ती चुनौतीहरूको सामना गर्‍यौँ। कहिल्यै नदेखेको, नभोगेको र कल्पनासमेत नगरेको प्राकृतिक विपद्को सामना गर्नुपर्‍यो। अब भने उद्धार र तत्काल राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने दिशातर्फ सोच्ने समय आएको छ।

विपद्को सुरुवाती अवस्थामै नेपाल सरकारका तर्फबाट नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र नुवाकोट–२ का प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने प्रभावित पालिकास्थित नेपाली सेनाको तालिम केन्द्रमा तत्काल उपस्थित हुनुभएको थियो। यस्तो अकल्पनीय अवस्थामा उद्धार तथा राहतलाई कसरी अघि बढाउने, रसुवा र नुवाकोटलाई एउटै संयन्त्रमार्फत उद्धार कार्यसँग जोड्ने तथा आवश्यक निकाय र संयन्त्र परिचालन गर्ने विषयमा उहाँहरूले सुरुवाती पहल गर्नुभएको थियो।

सुरक्षा निकाय, प्रशासन, स्थानीय तह तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गर्दै उद्धारका लागि आवश्यक पहल अघि बढाउन उहाँहरूको भूमिका महत्वपूर्ण रह्यो। कतिपय स्थानमा अन्य विकल्प नरहेको अवस्थामा हेलिकप्टरमार्फत टनेलभित्र फसेका व्यक्तिदेखि हिलो, पहिरो र जंगलबीच फसेकाहरूको समेत उद्धार गर्नुपर्ने अवस्था आयो। नुवाकोट, रसुवा र धादिङलाई केन्द्रमा राखेर खोज तथा उद्धारको काम निरन्तर अघि बढ्यो।

उद्धारसँगै दोस्रो दिनदेखि उद्धार गरी ल्याइएका तथा विस्थापित नागरिकका लागि विभिन्न विद्यालय र कभर्डहलमा होल्डिङ सेन्टर सञ्चालन गरियो। कतिपय स्थानमा १०० देखि ३०० जनासम्मलाई व्यवस्थापन गरी अस्थायी बसोबासको व्यवस्था मिलाइयो। स्थानीय तह र सुरक्षा निकायसँगको समन्वयमा प्रत्येक होल्डिङ सेन्टरको अवस्था तथा आवश्यकताको पहिचान गरी प्रभावित नागरिकलाई सहजीकरण गर्न फोकल पर्सनसमेत तोकियो।

यस कठिन अवस्थामा पार्टी केन्द्रीय सभापतिले खेल्नुभएको समन्वयकारी भूमिका तथा बागमती प्रदेश र प्रभावित तीन जिल्ला—नुवाकोट, रसुवा र धादिङका जिल्ला समितिबीचको समन्वयले सञ्चार सम्पर्क टुटेको अवस्थामा समेत वैकल्पिक मार्ग पहिचान गर्न र प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न सहजता प्रदान गर्‍यो।

बागमती प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सरकारका कर्मचारी, निर्वाचित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्राविधिक तथा सम्बन्धित सबै निकायले आफ्नो जिम्मेवारीअनुसार उद्धार, राहत, व्यवस्थापन र समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति, चारवटै प्रभावित पालिकाका प्रमुख–उपप्रमुख तथा वडाध्यक्षहरू, सडक डिभिजन कार्यालय नुवाकोट, गल्छी–मैलुङ सडक आयोजनाका प्रमुख तथा प्राविधिक टोलीलगायतले विपद्को समयमा निर्वाह गर्नुभएको भूमिकालाई पनि विशेष रूपमा स्मरण गर्न चाहन्छौँ।

त्यसैगरी, नेपाल टेलिकमको दूरसञ्चार कार्यालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित प्राविधिक टोलीहरूले विपद्को चौथो दिनभित्रै प्रभावित पालिकाहरूमा सञ्चार तथा विद्युत् प्रवाहको प्रारम्भिक व्यवस्था गर्न गरेको प्रयास महत्वपूर्ण रह्यो।

विभिन्न विद्यालय परिवारहरूले अस्थायी आवास तथा होल्डिङ सेन्टर सञ्चालनका लागि आफ्नो स्थान उपलब्ध गराएर विपद्मा परेका नागरिकलाई सुरक्षित आश्रय प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँहरूको योगदान पनि यस अवधिमा विशेष रूपमा स्मरणीय छ।

मेरो आफ्नै अनुभवका रूपमा, म २३ दिनसम्म विदुर नगरपालिका केन्द्रित रही प्रभावित क्षेत्र तथा अन्य प्रभावित पालिकाहरूमा सहजीकरण र समन्वयको काममा संलग्न रहेँ। त्यस क्रममा नागरिकको वास्तविक अवस्था, आवश्यकता र तत्कालीन प्राथमिकताबारे आवश्यकतामा आधारित जानकारी प्राप्त गर्ने, सम्बन्धित निकायसम्म पुर्‍याउने तथा राहत र व्यवस्थापनका काममा आवश्यक समन्वय गर्ने अवसर पाएँ। ती २३ दिनले विपद्को वास्तविकता र नागरिकले भोगेको पीडालाई नजिकबाट बुझ्ने अवसरसमेत दियो।

यस क्रममा विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वरका जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावित पालिका सभापति, वडा सभापति तथा जिम्मेवार साथीहरू नागरिक तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर समस्या पहिचान, सूचना प्रवाह, सम्बन्धित निकायसम्म समस्या पुर्‍याउने र आवश्यक सहजीकरणमा सक्रिय रहनुभयो। विपद्को समयमा दलगत सीमाभन्दा माथि उठेर नागरिकको उद्धार र राहतमा सहयोग गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दछौँ।

अब हामी उद्धार र तत्काल राहतको चरणबाट पुनःस्थापना तथा पुनर्निर्माणको चरणमा प्रवेश गरेका छौँ। यसबीच सरकारको प्राथमिकतामा त्रिशूली वारिपारि तथा रसुवा जोड्ने मुख्य सडक सञ्चालनमा रहेको जानकारी पाएका छौँ। त्यसका लागि विभिन्न स्थानमा बेलिब्रिज निर्माणका लागि आधार तयार गर्ने काम भइरहेको छ।

सडक तथा झोलुङ्गे पुलहरूको मर्मत कार्य पनि अघि बढिरहेको छ। तारकेश्वर र किस्पाङका लागि सहज सडक सम्पर्क कायम गर्न १०० मिटरभन्दा लामो दुईवटा बेलिब्रिज आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनमा सरकार लागिरहेको जानकारी पाएका छौँ।

अब प्रभावित परिवारको क्षतिको विवरणलाई व्यवस्थित र यथार्थपरक रूपमा अभिलेखीकरण गर्दै सुरक्षित आवास, सडक तथा पुल, विद्युत्, सञ्चार, कृषि, व्यवसाय र जीविकोपार्जन पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ।

अन्त्यमा, यस विपद्को कठिन समयमा धैर्यतापूर्वक सामना गर्नुहुने नुवाकोटका प्रभावित आम नागरिक, उद्धार तथा राहतमा खटिनुहुने सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्राविधिक, विद्यालय परिवार, राजनीतिक दल, राहत तथा अस्थायी बसोबास व्यवस्थापनमा सहयोग गर्ने गैरसरकारी संस्था, प्रभावित परिवार तथा सार्वजनिक स्थानमा सरसफाइमा खटिनुहुने विभिन्न दलका भ्रातृ संगठनहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय तथा प्रदेश नेतृत्वले गर्नुभएको समन्वय तथा रास्वपा परिवारका स्वयंसेवक साथीहरू, केन्द्रीय र्‍यापिड एक्सन टिम (RAT) तथा सहयोगी सबैप्रति राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट हार्दिक आभार व्यक्त गर्दछ।

एक महिनाअघि हामी जीवन बचाउने अभियानमा हातेमालो गरिरहेका थियौँ। त्यस क्रममा केही कमजोरी भए होलान्, अझै पनि धेरै काम गर्न बाँकी छन्। तारकेश्वर, किस्पाङ र सिङ्गो रसुवा अझै मुख्य सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन नसक्दा नागरिकहरू उस्तै पीडामा छन्।

अब त्यही एकतालाई पुनःस्थापना, पुनर्निर्माण र सुरक्षित नुवाकोट निर्माणको अभियानमा रूपान्तरण गरौँ।

धन्यवाद।

-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका सचिव बसन्त धितालको धारणा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web