आपतकालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा 

अशोज ९, २०८३ मा प्रकाशित | 25 views

आपतकालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा 
-रामहरि न्यौपाने ।
नुवाकोटसहित आसपासका बासिन्दालाई आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बागमती प्रदेश सरकारले देवीघाटमा आपतकालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहकार्यमा विदुर नगरपालिका–५ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्थापना गरिएको केन्द्रको आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुभारम्भ गर्नुभयो ।
गत भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने सबै किसिमका पुल सहित सडक क्षति पु-याएपछि त्रिशूली अस्पतालसँगको आवतजावत प्रभावित भएको अवस्थामा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तरता दिन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
मुख्यमन्त्री थापामगरले बाढीका कारण स्वास्थ्य सेवामा समेत प्रभाव परेकाले तत्काल आवश्यक सेवा उपलब्ध गराउन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले केन्द्रबाट प्रवाह हुने सेवाको आवश्यकता र प्रभावकारिताका आधारमा पूर्वाधार, जनशक्ति तथा उपकरण थप गर्दै सेवा विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले बाढी प्रभावित नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका साथै नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । केन्द्रमा अत्यावश्यक सेवा प्रवाहका लागी चाहिने जनशक्ति तथा स्वास्थ्य उपकरण बागमती प्रदेस सरकारले त्रिशूली अस्पतालसंगको सहकार्यमा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले डब्लुएचओसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको केन्द्रलाई आगामी दिनमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गराउने योजना रहेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने लक्ष्य लिएकाले बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमका अनुसार त्रिशूली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी केन्द्रबाट बिरामीको जाँच तथा उपचार सेवा सुरु गरिएको हो । हाल आकस्मिक प्रसूति सेवा सञ्चालनमा रहेको र आगामी दिनमा शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनको पहल भइरहेको उहाँले बताउनुभयो ।
केन्द्रमा त्रिशूली अस्पतालबाट दुई चिकित्सक र तीन नर्ससहित आवश्यकता अनुसार फार्मेसी, प्रयोगशाला र हेल्थ असिस्टेन्टलगायतका स्वास्थ्यकर्मी खटाइएको छ । केन्द्र चौबीसै घण्टा सञ्चालनमा रहनेछ ।
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार केन्द्रबाट उपलब्ध हुने स्वास्थ्य सेवा तथा औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य बीमामार्फत नियमित औषधि सेवन गर्दै आएका बिरामीलाई बीमा सुविधाअनुसार औषधि उपलब्ध गराइने तथा थप उपचार वा परीक्षणका लागि माथिल्लो स्वास्थ्य संस्थामा पठाउनुपर्ने बिरामीलाई बीमा सिफारिससमेत गरिने उहाँले बताउनुभयो ।
गत भदौ १० गते आएको भोटेकोसी बाढीले त्रिशूली नदी वारपार गर्ने विभिन्न पुल तथा सडक संरचनामा क्षति पु-याएपछि नुवाकोटका विदुर नगरपालिकाको अधिकांश भूगोल सहित नौ स्थानीय तह र रसुवाबासीले प्रादेसिक अस्पतालको रुपमा सञ्चालित त्रिशूली अस्पतालसँग सेवा लिनबाट बञ्चित हुदै आएका थिए । बाढीका कारण सरकारी अस्पतालबाट नियमित स्वास्थ्य सेवा लिन कठिनाइ भएपछि तत्काल अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्र सञ्चालनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुन नदिन केन्द्रबाट आकस्मिक तथा आधारभूत उपचार, प्रसूति सेवा, प्रयोगशाला परीक्षण र औषधि वितरणलगायतका सेवा क्रमशः विस्तार गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web