
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० मा आएको बाढीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिले प्रमुख समस्या रहेको छ ।
साथै झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी पनि बढ्न थालेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म ८८ जनामा झाडापखाला देखिएको छ । त्यस्तै कतिपयमा रुघाखोकी र ज्वरोको समस्या छ ।
विस्थापितहरु नुवाकोट, रसुवा, धादिङ र काठमाण्डौका होल्डिङ सेन्टरमा रहेका छन् । होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकाले सरुवारोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ । यस्तै बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियान सञ्चालन भएको छ । जसअन्तर्गत ५० हजार भन्दा धेरैले खोप सेवा लिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा ५० हजार ४६७ जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा.अञ्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार पालिका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा ७७ हजारभन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य छ ।
सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डा. कार्कीले बताउनुभयो ।
हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन उहाँको आग्रह छ ।
29.12¡ÆC