धादिङको कृष्णभीरमा दुईतर्फी गाडी सञ्चालन

अशोज १, २०८३ मा प्रकाशित | 5 views

धादिङको कृष्णभीरमा दुईतर्फी गाडी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र १४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाडी चल्न थालेका हुन् ।

सडक खण्डमा गएरातिदेखि नै गाडी आवतजावत भएको र अहिले बिहानदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ । हिजो कृष्णभीर नजिकै पनि अर्को पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यो पहिरो पनि पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अरु अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ ।

सडकको अवस्था र यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्नसमेत प्रहरीले आग्रह गरेको छ ।

कृष्णभीरको सडक सञ्चालनसँगै नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाडीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web