
काठमाडौँ । भोटेकोशीको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम सकिएको छ ।
परीक्षणसँगै ग्यास बुलेट, सिलिन्डर र ट्याङ्कर पार भएका छन् । हिजो ४ वटा ग्यास बुलेट, भरिएका सिलिन्डर बोकेका २५ वटा ट्रक र ४० वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार भएका हुन् । अब भोलि असोज १ गतेदेखि दुईतर्फी नै गाडी चलाउन मिल्ने गरी अन्तिम तयारी भैरहेको छ ।
सडक विभागकाअनुसार आज बेलुकासम्म ट्याकमा ग्राभेलको काम पुरा हुनेछ । बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ १४ मा त्रिशूली नदीको कटानले पर्खाल नै भत्काएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण चरौँदी क्षेत्रको सडकखण्डमा क्षति पुगेको थियो ।
त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो । मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो ।
विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए । इन्जिनियर पौडेलकाअनुसार प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् ।
नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि तयारी भइसकेको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ ।
कृष्णभीरको जोखिमलाई मध्यनजर गरी यो सडकखण्डको वैकल्पिक मार्गका रुपमा बेनीघाट–फिस्लिङसम्मको झण्डै २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढेको छ । यो सडकमा यात्रुवाहक गाडी वैकिल्पक रुपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।
21.12¡ÆC