नुवाकोट । लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि बुधबारदेखि आफ्नो भवनको निर्माण सुरु गरेको छ ।
केन्द्र कहाँ कायम गर्ने भन्ने विवाद र जग्गा प्राप्तीमा भएको ढिलाईका कारण लिखुको प्रमुख प्रशासकीय भवन निर्माणमा विलम्ब हुदैँ आएको थियो ।
नयाँ निर्माण थालिएको प्रमुख प्रशासकीय भवनको बुधबार शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गाँउपालिकाले प्रवाह गर्ने सेवा सहित पूर्वाधार विकासमा धेरै सफलता प्राप्त भएपनि आफ्नै भवन अभावले भोगिरहेको समस्याको छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
भवन अभावका कारण भाडाको घरमा कार्यालय स्थापना गरिएको लिखु गाउँपालिकाको कार्यालय हाल विद्यालयको भवनबाट सञ्चालन भइरहेको छ । पालिकाको कार्यालयले आफ्नै भवन प्राप्त भएसगैँ पालिकाबासी–सेवाग्राहीलाई प्रवाह गर्ने सेवामा थप गुणस्तर, विश्वसनीय, चुस्त एवम् सहज हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।
विसं २०७३ फागुन २५ को मन्त्रिपरिषद्को निर्णय अनुुसार प्रकाशित राजपत्रमा लिखु गाउँपालिकाको केन्द्र भलाद्मीडाँडा कायम गरिएको थियो । उक्त स्थानमा भवन निर्माणका लागी जग्गाको अभाव र अपायक पर्ने भएसगैँ सिमलचौर कायम गरेर नयाँ भवनको निर्माण थालिएको भएपनि उक्त स्थानमा बाढी पहिरोको उच्च जोखिम सिर्जना भएसगैँ पुनः कार्यालय भलाद्मीडाँडाबाट सञ्चालन भइरहेको छ । पायक पर्ने स्थानमा जग्गा प्राप्ती र केन्द्र परिवर्तनको लागी थालिएको पछिल्लो नौ वर्षदेखिको प्रयास हालै समाधान भएसगैँ नयाँ भवन निर्माणका लागी बाटो खुला भएको उपाध्यक्ष शुभद्रा अधिकारीले जानकारी दिनुभयो ।
वडा नं ३ स्थित भलाद्मीडाँडाबाट वडा नं ४ गड्खारमा पालिकाको केन्द्र कायम गरेर जग्गा प्राप्त भएसगैँ भवन बनाउन गाउँपालिको बहुवर्षिय श्रोत सुनश्चित गरेर रु. ११ करोड ३२ लाख बजेट छुट्टाएर प्रक्रिया अघि बढाइएको हो ।
निर्माण थालिएको सुविधासम्पन्न भवन बहुविपद् प्रतिरोधी प्रविधिमा आधारित रहने उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार चारतल्ले भवनलाई बालमैत्री, अपाङ्गमैत्री एवम् महिलामैत्री स्वरुपमा निर्माणको जिम्मा दिइएको छ । सोही अनुसार कार्यालय सञ्चालनका लागी आवश्यक कक्षहरु, सभाहल, विषयगत शाखा कार्यालय, न्यायिक समितिको इजलास, स्तनपान कक्ष, ज्येष्ठनागरिक विश्राम कक्ष, बालमैत्री उद्यान सहितका संरचना निर्माण गर्न भनिएको छ । भवन निर्माण कार्य अठार महिना भित्र सम्पन्न गर्न सूर्यकिरण निर्माण सेवालाई रु. सात करोड ९७ लाखमा जिम्मेवारी दिइएको छ ।
छ वटा वडा रहेको लिखुको सबै वडा कार्यालय यसअघि नै सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा आइसकेका छन् । बाह्र पालिका रहेको नुवाकोटमा आफ्नै भवन निर्माण गर्नेमा लिखु गाउँपालिका सबैभन्दा अन्तिमको पालिका हो ।
–रामहरि न्यौपाने

ताजा समाचारहरू