काठमाडौ । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागु हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको जनाएको छ ।
राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।

यससँगै वाग्मतीमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने सम्भावना नरहेपछि मत विभाजनमा नगई पदबाट राजीनामा दिने घोषणा गरेका थिए । त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।
बानियाँ नेतृत्वको सरकार गत २०८२ साउन २० गते संविधानको धारा १६८ (२) बमोजिम गठन भएको थियो । कांग्रेस र एमालेको साझेदारीमा बनेको बानियाँ नेतृत्वको सरकार एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो ।

ताजा समाचारहरू