लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै पक्षको भूमिका आवश्यक

अन्तरक्रियासँगै आजै बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न

नुवाकोट — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नुवाकोटको विदुरमा लागूऔषध दुर्व्यसनसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको आयोजनामा आज विदुरमा सम्पन्न अन्तरक्रियामा जिल्लामा लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, यसको न्यूनीकरण तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका र यससँग जोडिएका सामाजिक विकृतिका विषयमा छलफल गरिएको हो।

कार्यक्रममा रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले प्रस्तुतीकरणमार्फत नेपालभर करिब १ लाख ३० हजारको हाराहारीमा लागूऔषध दुर्व्यसनी रहेको र यसको प्रत्यक्ष प्रभाव नुवाकोटमा समेत परेको बताउनुभयो। उहाँले लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रशासन तथा प्रहरीसँगै राजनीतिक दल, सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।

अन्तरक्रियामा नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, नेकपा एमालेका प्रतिनिधि तथा औषधि व्यवसायी संघ नुवाकोटका अध्यक्ष टलकमान श्रेष्ठ, जिल्ला बार एसोसिएसन नुवाकोटका अध्यक्ष उत्तम घिमिरे, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक उमेश कुमाल, पत्रकार रामहरि न्यौपाने र सुनिल श्रेष्ठ तथा नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीलगायतले जिल्लामा लागूऔषधसम्बन्धी अपराधका घटना बढ्दै गएको भन्दै समयमै नियन्त्रणका लागि सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो।

विशेषगरी किशोर तथा युवा अवस्थामा धूम्रपान र मदिरापानबाट सुरु हुने कुलत क्रमशः लागूऔषध सेवनजस्तो गम्भीर समस्यातर्फ जाने गरेको तथ्य देखिएकाले यसको रोकथामका लागि परिवार, विद्यालय, समाज, प्रहरी, प्रशासन, राजनीतिक दल, सञ्चारमाध्यम तथा नागरिक समाजबीच सकारात्मक सहकार्य आवश्यक रहेको रास्वपा नुवाकोटका जिल्ला सचिव बसन्त धितालले बताउनुभयो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा नुवाकोटले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने क्रममा अन्तरक्रियासँगै आजै बृहत् रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा १६ जना दाताले रक्तदान गरेका थिए।

यस्तै, पालिकास्तरमा समेत विभिन्न शीर्षकमा रचनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरिएको र युवाहरूलाई सहभागी गराई सामाजिक सद्भाव झल्काउने भिडियो कन्टेन्ट क्रिएसन, क्षमता अभिवृद्धि तथा राष्ट्र निर्माणमा युवाको योगदान बढाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको सचिव धितालले जानकारी दिनुभयो।

सभापति रामेश्वर गजुरेल मार्फत प्रस्तुत गरिएको प्रतिवेदनको सारसंक्षेपः

TOP