रास्वपा नुवाकोटको आयोजनामा भएको रक्तदानमा १६ दाताले गरे रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको रक्तदान

नुवाकोट — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जना दाताले रक्तदान गरेका छन्।

आज विदुरमा सम्पन्न रक्तदान कार्यक्रममा १६ जना सहभागीले रक्तदान गरेको रास्वपा नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

रक्तदान कार्यक्रममा महिलाहरूको समेत सक्रिय सहभागिता रहेको थियो। केही दाताले पहिलोपटक रक्तदान गरेको रक्तसञ्चार केन्द्रको प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो।

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा लागूऔषध दुर्व्यसनविरुद्ध जिल्लास्तरीय सचेतना कार्यक्रम पनि आजै विदुरमा सम्पन्न गरेको छ। पालिकास्तरमा समेत विभिन्न शीर्षकमा रचनात्मक गतिविधि सञ्चालन गर्न आयोजना गरिएको जिल्ला सचिव बसन्त धितालले जानकारी दिनुभयो।

यस्तै, सामाजिक सद्भाव झल्काउने भिडियो कन्टेन्ट क्रिएसनसहित युवाहरूलाई सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धि, रचनात्मकता विकास तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सहयोग पुग्ने विभिन्न कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

रक्तदान कार्यक्रममा सहभागि दाताहरुको तस्बिर विवरणः

TOP